इटहरीः मोरङको रंगेलीमा आफ्नै स्कुलको बसले ठक्कर दिँदा घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
मोरङको रङ्गेली नगरपालिका–७ स्थित माउन्ट मकालु बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा घाइते भएकी सोही बोर्डिङको एलकेजीमा अध्ययनरत ६ वर्षीया सुनमकुमारी मण्डलको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घाइते बालिकाको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगरतर्फ लगिएको थियो ।
दुर्घटनालगत्तै फरार भएका बसका चालकलाई पक्राउ गरिएको बताउँदै उनले सहचालक भने भारततर्फ फरार भएकाले उनको खोजी भइरहेको बताए । ठक्कर दिने बस पनि प्रहरीको नियन्त्रणमा रहेको उनले बताए । यता, दुर्घटनापछि आक्रोशित स्थानीयले सोही स्कुलको अर्को बस तोडफोड गरिदिएका थिए । घटनापछि स्थानीय बासिन्दाको विरोधका कारण रङ्गेलीको अवस्था केही असामान्य बनेको थियो ।
असार १४ गते स्कुलको को १ क ११३० नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा सोही विद्यालयको कक्षा नर्सरीमा अध्ययनरत रङ्गेली–५ का महादेव मण्डलका छोरा अन्दाजी ४ वर्षीय रितिक मण्डलको मृत्यु भएको थियो भने बालिका सुनमकुमारी घाइते भएकी थिइन् । विद्यालय छुट्टि भएपछि घरतर्फ लागेका बालकलाई सो दिन अपराहन्न ४ बजे बसले ठक्कर दिई घाइते बनाएकोमा उपचारार्थ स्थानीय टायम्स अस्पतालमा पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका थिए । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।