काठमाडौँः राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ । आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

राजपुर नगरपालिका–१ का एकामुल हकले गरेको पुनरावेदनमा सूचना आयोगले यो फैसला गरेको हो । हकले राजपुर नगरपालिकासँग कोरोना महामारीको समयमा नगरपालिकाको क्वारेन्टाइनमा रहेका नागरिकको संख्या, प्रतिव्यक्ति खर्च, क्वारेन्टाइनमा बस्ने व्यक्तिले ओढ्ने कम्बलको मूल्यलगायतबारे प्रमाणित प्रतिलिपि मागेका थिए ।

सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार उक्त नगरपालिकासँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता हकले कानुनअनुसार राष्ट्रिय सूचना आयोगमा सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गरेका थिए ।

पुनरावेदन दर्तापछि सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक आदेश भएको, कारबाहीबारे सजग गराएको साथै चेतावनी दिँदासमेत ठाकुरले सूचना नदिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सूचना उपलब्ध नगराई संविधान प्रदत्त नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लंघन गरेको भन्दै आयोगले जरिवानाको फैसला गरेको हो । राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले कार्यालय प्रमुख ठाकुरलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १० हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको जानकारी दिए । -रासस