काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् ।

थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलंकाको श्रीलंकन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

थाई स्माइलले काठमाडौं विमानस्थलबाट पहिलो पटक नियमित उडान सुरू गर्न लागेको हो, भने श्रीलंकन एयरलाइन्सले कोभिड–१९ महामारीका समय स्थगन गरेको उडान पुनः सञ्चालन गर्न लागेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार थाई स्माइलले शुक्रबारदेखि काठमाडौँ–बैंकक सिधा उडान सुरू गर्न लागेको छ । कम्पनीले आवश्यक सबै प्रक्रिया पु¥याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको प्राधिकरणले जनाएको छ ।

नेपालका लागि थाई स्माइलको आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभल रहेको छ । थाइल्याण्डको बैंकक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एयरवेजको भगिनी संस्था हो ।

थाई स्माइलले सन् २०१२ जुलाईबाट व्यावसायिक उडान सुरू गरेको थियो । कम्पनीले थाइल्याण्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ ।

श्रीलंकन एयरलाइन्सले उडान थप्यो

श्रीलंकन एयरलाइन्सले सातामा सात वटै नियमित उडान गर्ने गरी अनुमति पाएको नेपालका लागि आधिकारिक जिएसए जेनिथ ट्राभल्सले जनाएको छ । यसअघि हप्ताको चार उडान भर्दै आएको एयरलाइन्सले अब दैनिक उडान गर्न लागेको हो ।

एयरलाइन्सले हाल आइतबार, सोमबार, मंगलबार र बिहीबार गरी नियमित चारवटा उडान गर्दै आइरहेको छ । एयरलाइन्सले अमेरिका, अष्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्डलगायत खाडीका गन्तव्यमा कोलम्बो ट्रान्जिट बनाएर सातामा सात उडान गर्ने अनुमति पाएको हो । कम्पनीले अमेरिका, अष्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्डलगायत गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।

प्राधिकरणका अनुसार हाल टीआइए भएर दुई नेपालीसहित २४ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यी मध्ये नेपालसहित १९ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान गरिरहेका हुन् ।

टीआइएमा कोभिड महामारीपूर्व नेपालका तीन सहित ३० देशका एयरलाइन्सले उडान गर्दै आएका थिए । कोभिडपछि अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक सरदर ७० उडान भइरहेको छ । यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकोप्टर कम्पनीसहित २० वटा वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् ।

नेपालले हाल ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो । -रासस