धरानः सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १४ वडा कार्याालयले वडामा साप्ताहिक सरसफाइ अभियान लागु गरेको छ ।
चर्चित धार्मिकस्थल पिण्डेश्वरधाम यसै क्षेत्रमा पर्ने हुँदा पर्यटकको आवागमनलाई प्रवद्र्धन गर्न अभियान सुरु गरिएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार अभियानकै क्रममा आज विजयपुर चौकदेखि दुईधारे सिंहदेवी चौकसम्म सरसफाइ गरिएको छ । हरेक हप्ता वडाका छुट्टाछुट्टै स्थानमा सरसफाइ गर्ने परिपार्टी विकास गरिएको उनले उल्लेख गरे ।
सरसफाइ अभियानलाई धरान १४ को वडा कार्यालयका कर्मचारी, प्रहरी, जनप्रतिनिधिहरू र स्थानियवासीहरुले सक्रियतापूर्वक सहभागी भएर साथ दिएका थिए । डेङ्गी, औलो, कालाजारजस्ता लामखुट्टे तथा भुसुनाबाट सर्ने सरुवा रोगको प्रकोपबाट बच्न सरसफाइ अभियान थालिएको वडा कार्यालयको भनाइ छ ।
अभियानलाई प्रभावकारी बनाउन विभिन्न संघसँस्थासँग सहकार्य गर्न पनि आफूहरु तयार रहेको वडाध्यक्ष भट्टराईले जानकारी दिए ।