इटहरीः स्थानीय सरकार रामधुनी नगरपालिका र रामधुनी नगर प्याब्सनको निर्णयलाई बाइपास गर्दै रामधुनीका केही निजी विद्यालयहरु हिजो बिहीबार र आज शुक्रबार पनि सञ्चालन भएका छन् ।

रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीले अविरल वर्षाका कारण बाटोघाटो बिग्रेको र नगरका केही बस्तीहरुसमेत डुबानमा परेको भन्दै असार १५ गते नै सूचना जारी गरी १६ र १७ गते विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । असार १४ गतेबाट भएको अविरल वर्षाका कारण १४ र १५ गते विद्यालयहरु सञ्चालन भएका थिएनन् । तर १६ गते बिहीबार मौसम सफा भएको भन्दै यहाँका केही विद्यालयहरुले विद्यालय सञ्चालन गरेका छन् ।

असार १५ गते रामधुनी नगर प्याव्सनका अध्यक्ष अच्युत ढकाल र सचिव हरिबहादुर रायमाझीले नगरभरिका विद्यालयहरु १६ र १७ गते बन्द गर्ने निर्णय गरेको भन्दै सूचना जारी गरेका थिए भने रामधुनी नगरपालिकाबाट पनि १५ गते बुधबार नै सूचना जारी गरिएको थियो । पछि केही विद्यालयले सामाजिक सञ्जाल फेसबुकमा मौसममा सुधार आएको भन्दै विद्यालय पूर्ववत रुपमै सञ्चालन हुने सूचना सार्वजनिक गरेका थिए । बिहीबार रामधुनीका लर्डबुद्ध, एलईएस, नमुना सामुदायिक, युनिक एकेडेमी, रयापिड लर्निङ्ग, रामधुनी इग्लिस बोर्डिङ्ग स्कुल, राइजिङ्ग स्टार, पञ्चालन विद्या मन्दिर, अल्पाइन इङ्गलिस स्कुल, पर्पल लोटस, नाइटेङ्गगल सिद्धार्थ शिशु सदन लगायतका विद्यालयहरु सञ्चालन भए ।

ramdhuni notice1

 

नगर सरकार र प्याब्सनको समेत निर्णय अस्वीकार गर्दै विद्यालयहरुले कक्षा सञ्चालन गरेपछि बिहीबार नगर प्याब्सनको बैठकसमेत बसेको थियो । बैठकमा उपस्थित विद्यालय सञ्चालकहरुले मौसम सफा भएको हुँदा नगरको निर्णय असान्दर्भिक भएको भन्दै विद्यालय सञ्चालन गरेको बताएको पाइएको छ । बैठकमा गल्ति भएको स्वीकार गर्दै शुक्रबार भने नगरको निर्णय कार्यान्वायन गर्ने निर्णय माइन्युट गरिएको प्याब्सन रामधुनीका सचिव हरिबहादुर रायमाझीले बताए । तथापि शुक्रबार पनि रामधुनीका राइजिङ्ग स्टार, पञ्चालन विद्या मन्दिर र अल्पाइन एकेडेमी भने पूर्ववत रुपमा सञ्चालन भएका छन् ।

ramdhuni notice2