इटहरीः मोरङको उर्लाबारी नगरपालिका ७, बरगाछिका एक हार्डवेयर व्यवसायी स्थानीयको करोडौँ रुपैयाँ ठगेर फरार भएका छन् ।
फारार हुनेमा सोही ठाउँ घर भएका विनोद ओली रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । कार्यालयका अनुसार स्थानीयहरुबाट रड, सिमेन्टजस्ता हार्डवेयरमा पाइने सामान खरिदको अग्रिम भुक्तानीस्वरुप रकम लिएर ओली फरार भएका हुन् ।
स्थानीय सर्वसाधारणका साथै उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण पनि लिएर फरार भएको प्रहरीको भनाइ छ । ओलीबाट पीडित स्थानीयहरु अहिले आफूहरुको सम्पर्कमा आई उजुरी दिन थालेको प्रहरीको भनाइ छ ।
उर्लाबारी जेसिजका पूर्वअध्यक्षसमेत रहेका ओलीविरुद्ध अहिलेसम्म ३५ जनाको उजुरी परेको र उजुरी पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । पीडितहरुले उर्लाबारी नगरपालिकामा पनि ओलीविरुद्ध उजुरी दिएका छन् ।