रौतहटः रौतहटको चन्द्रपुर नगरपालिका ९, डुमरियास्थित मुस्लिम टोलबाट श्रीमतीको घाँटी थिची हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थान घर भएका खुर्सैद राइन भनिने औसयद मोहम्मद कवारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । कवारीउपर आफ्नी २१ वर्षीया श्रीमती तराना खातुनको घाँटी थिचेर हत्या गरेको अभियोग छ ।
घाँटी थिचेर हत्या गरिसकेपछि उनले श्रीमतीको शवलाई सलको पासो लगाई आफ्नै कोठाको पङ्खामा झुन्ड्याएर श्रीमतीले आत्महत्या गरेजस्तो देखाउने प्रयास गरेको प्रहरीको भनाइ छ ।
मृतक खातुनलाई झुन्डिएको अवस्थामा उनकी सासु नाजमुन खातुनले देखेपछि चन्दननिगाहपुरस्थित चन्द्रपुर अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । पक्राउ परेका अभियुक्त कवारीउपर कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि जिल्ला अदालत रौतहटको आदेशमा हिरासतमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।