इटहरीः झापाको कमल गाउँपालिका–४ चुलाचुली मोडमा ट्रकको ठक्करबाट बुधबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका–९ बिजुली अफिसछेउमा बस्ने अन्दाजी ३८ वर्षीय दीपक नेपाल रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकललाई राति ११ः२० बजेतिर ठक्कर दिँदा गम्भीर घाइते भएका नेपाललाई उपचारार्थ दमक अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषित गरिदिका थिए ।

दुर्घटना गराउने ट्रकका चालक झापाको बाह्रदशी गाउँपालिका–६ का ४३ वर्षीय डम्बरबहादुर पाण्डेलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको डीएसपी तिम्सिनाको भनाइ छ ।