इलामः इलामको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईमाथि भएको दुर्व्यवहार प्रति गाउँपालिकाका कर्मचारीले आपत्ति जनाएका छन् ।

गाउँपालिकाका कर्मचारीहरुबाट कुशल ढंगले कार्य सम्पादन भइरहेको बेला जनप्रतिनिधि र कर्मचारी बाहेकका राजनीति दलका कार्यकर्ता प्रवेश गरि गरेको दुर्व्यवहार प्रति कर्मचारीले खेद व्यक्त गरेका हुन् । बुधबार संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै कर्मचारीहरुले गाउँपालिकासँग घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कार्वाही गर्न माग गरेका छन् ।

कुसल कर्मचारीमाथि भएको दुव्र्यवहार विरुद्ध जस्तो सुकै अवस्थामा कर्मचारी एकजुट रहेको जनाउँदै विज्ञप्तीमा उक्त घटनालाई कुनै पनि ढंगले राजनीतिकरण नगर्न पनि आग्रह गरिएको छ । गएको असार ८ गते नेपाली काङ्ग्रेसका देवेन्द्र सुवेदीले प्रमुख प्रशासकीय अधिकृत महेश राईलाई गालीगलौज गर्दै दुव्र्यवहार गरेको बिज्ञप्तीमा आरोप छ ।

bigapti

 

गाउँपालिका अध्यक्षको कोठामा बोलाएर सुवेदीले राईलाई गाउँपालिकाको प्रवक्ता र योजना छान्ने विषयमा हाबी भएको आरोप लगाउँदै गाली गरेको जनाईएको छ । अधिकृत राईले प्रवक्ता छान्ने, योजना छान्ने विषय जनप्रतिनिधिको भएकाले त्यसमा आफनो कुनै गल्ती र हस्तक्षेप नरहेको बताएका छन् ।

किरात राई कर्मचारी मञ्चले पनि विज्ञप्ति जारी गरी प्रमुख प्रशासकीय अधिकृत राईमाथि दुव्र्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ । सुवेदीले भने आफूले सम्झाउन खोज्दा प्रमुख प्रशासकीय अधिकृत राई नै आवेशमा आएको बताएका छन् । राईसँग भनाभन मात्र भएको सुवेदीको भनाई छ ।