धरानः धरान ६ पानबारी सूचना टोल शेरा खोला छेउका धनबहादुर परियार बाढीको त्रासका कारण तीन दिनदेखि जाग्राम बसिरहेका छन् । बाढीले उनलाई मात्र नभई उनकी ८० वर्षीया आमासहित परिवारका सबैलाई चिन्तित तुल्याएको छ ।

उनी भन्छन्, ‘३ दिनदेखि सुतेका छैनौँ । रातभर लाइट (टर्च) बालेर बस्छौँ ।’ ज्यान बचाउनका लागि टर्चले खोला हेदै बस्नु परेको उनी बताउँछन् । उनी अघि भन्छन्, ‘अहिले दिनमा सुत्छौँ । राति भएपछि कतिबेला खोलाको बाढीसँगै बगिने हो भन्ने चिन्ताले निद्रा लाग्दैन ।’ त्यही बस्तीकी निर्मला मगर पनि बाढीले ज्यान जोखिममा पर्ने चिन्ताले निदाउन नसकेको बताउँछिन् ।

उनी भन्छिन्, ‘हामीलाई सधैँ चिन्ताले सताउँछ । कहिले सरकार कहिले बाढीपहिरो ।’ उनले घरमा भएका सरसमान अर्कैको घरमा लगेर सुरक्षित गरेको बताइन् । उनलाई दिउँसो बगाएर लगे अन्य छिमेकीले देखेर उद्धार गर्लान् भन्ने आशा छ । उनीहरु त्यहाँका प्रतिनिधिमुलक पात्र मात्रै हुन् । बस्तीका करिब १६ घरपरिवार ३ दिनदेखि अनिदै छन् । उनीहरु सबैको चिन्ता कतिबेला शेरा खोलाको बाढीसँगै बगिने हो कि भन्ने हो ।

290108995_1012268616091626_2915512939181937092_n

खोला अहिले बस्तीका छेउमा आएको छ । उनी प्रहरी आएर सुरक्षित स्थानमा सर्न सुझाव दिएको बताउँछन् । पहिले राम्रै व्यवसाय सञ्चालन गरेको बताउँदै उनले व्यवसायले नै आफूहरुलाई सुकुम्बासी बनाएको दुखेसो पोखे । आफ्ना तीन पुस्तामध्ये कसैको पनि निजी जग्गाजमिन नरहेकाले सुकुम्बासी जग्गामा बस्नुपरेको बताए ।

धरान उपमहानगरका सुकुम्बासी क्षेत्रका धेरै नागरिक अहिले त्रसित भएर रात बिताइरहेका छन् । धरान ६ वडाध्यक्ष भुपेन्द्र भट्टराई बस्तीका नागरिकका सुरक्षाका लागि उपमहानगरलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि तदरुकता नदेखाएको बताउँछन् । उनका अनुसार खोलाबाट गिटी बालुवा झिक्नेबित्तिकै समस्या समाधान हुन्छ ।