इटहरीः मोरङको विराटनगर महानगरपालिका–१२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार अपराहन्न ५ः३० बजे अस्थायी प्रहरी पोष्ट बखरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका विराटनगर–६ का ४० वर्षीय नारायण महतोलाई चेकजाँच गर्ने क्रममा महतोको साथबाट ५ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेका महतोको बयानका आधारमा लागूऔषध ओसारपसारमा सप्तरी हनुमाननगर–९ घर भई विराटनगर–११ बस्ने २५ वर्षीय सुमनकुमार रायको समेत संग्लग्नता रहेको खुलेसँगै रायलाई सोही स्थानबाट स ३ प ५१८४ नम्बरको मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको प्रदेश १ प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।

यसरी ब्राउनसुगरसहित पक्राउ परेका अभियुक्तहरुका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।