इटहरीः प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले प्रदेशका महिलालाई आत्मरक्षा ९सेल्फ डिफेन्स० तालिम दिन सुरु गरेको छ ।
 
महिलालाई सुरक्षा चुनौति आएको बेला कसरी सामना गर्ने भन्ने सवाललाई ध्यानमा राख्दै प्रदेश खेलकुद विकास बोर्डले प्रदेश १ का १४ वटै जिल्लाबाट २ जनाका दरले महिलाहरुलाई बोलाएर सेल्फ डिफेन्स तालिम सुरु गरेको हो । टाढाको जिल्लाबाट २ जनाको दरले सहभागी भएको भएतापनि नजिकका जिल्लाबाट केही थप भएर ४७ जना सहभागीले सेल्फ डिफेन्स तालिम लिइरहेको प्रदेश १ खेलकुद विकास बोर्डका बोर्ड सदस्य शैलेशकुमार बिष्टले बताए ।
 
महिलालाई आत्मरक्षा सीपले सम्पन्न बनाउने हिसाबले सञ्चालन गरिएको तालिम नेपालमै प्रदेश खेलकुदबाट नयाँ सुरुवात भएको टिप्पणी गरिएको छ । हरेक जिल्लाबाट सहभागी भएर तालिम लिने महिलाहरुले आफ्नो जिल्लामा फर्केर जिल्लाको प्रतिनिधित्व गर्दै सोही प्रकारको तालिम सञ्चालन गर्ने विश्वास लिएको प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले बताए ।
मोरङ्ग व्यापार संघको भवनमा सञ्चालन भइरहेको कार्यक्रम प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रममा विशेष अतिथिको रुपमा प्रदेश खेलकुद बिकास बोर्डका सदस्यसचिव वाग्ले र विशेष अतिथिको रुपमा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको उपस्थिति रहेको थियो ।
 
असार १४, १५ र १६ गते सञ्चालन हुने सेल्फ डिफेन्स तालिम कार्यक्रममा मार्सल आर्टस तथा सेल्फडिफेन्सका केन्द्रीय अध्यक्ष डीबी राणपलको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष राणपलले प्रदेश १ बाट राम्रो कामको थालनी भएको बताए । प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेशकुमार बिष्टले सञ्चालन गरेको कार्यक्रममा मार्सल आर्टस तथा सेल्फ डिफेन्सका राष्ट्रिय स्तरका ३ जना प्रशिक्षकहरुले प्रशिक्षण दिँदैछन् । उद्घाटन कार्यक्रम प्रदेश नम्बर १ खेलकुद विकास बोर्डकी उपाध्यक्ष जिनाजंग कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।