बराहक्षेत्रः निरन्तरको वर्षाका कारण सप्तकोसी नदी आसपासका भूभागमा जोखिम बढ्न थालेको छ । जसअन्तर्गत सुनसरीको बराहक्षेत्र नगरका श्रीलंका टप्पु, चिलिया टप्पु, राजाबास र प्रकाशपुर क्षेत्रलाई उच्च जोखिम क्षेत्रका रूपमा लिइएको छ ।

साविक भरौलका कालाबञ्जर, खोरिया लगायतका स्थानहरूका साथै जितपुर, हनुमानजोडा, ठाकुरबारी लगायतका स्थानसमेत जलमग्न रहेका छन् । सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार सप्तकोसीमा पनि पानीको बहाव हिजोभन्दा बढेको छ । हिजो साँझसम्म कोसीको बहाव प्रतिघण्टा १ लाख २५ हजार क्युसेक मापन गरिएको थियो । अहिले बिहान ८ बजेको मापनअनुसार पानीको बहाव बढेर १ लाख ४१ हजार ७ सय २५ क्युसेक पुगेको छ । कोशी ब्यारेजको ५२ वटा ढोकामध्ये १९ वटा ढोका खोलिएको छ ।

289392277_861697521455045_6728896857183310760_n

यसैबीच, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अझै केही दिन सक्रिय रहने भएपछि नेपाली कांग्रेस बराहक्षेत्र नगर समितिले आवश्यक परेको अवस्थामा सहयोग गर्ने प्रतिबद्वता जनाएको छ । ’हामीले नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छा,ैँ’ कार्यावाहक नगर सभापति युवराज श्रेष्ठ भन्छन्, ‘ आवश्यक परेको खण्डमा राहतको लागि पनि हामी तयार छौँ र कांग्रेसका तर्फबाट उद्वार गर्ने टोलीसमेत स्टान्डबाइ रहनेछ ।’

त्यस्तै, नगरको शिक्षा शाखाले बढ्दो वर्षासँगै विद्यालय क्षेत्र बढी प्रभावित रहने भन्दै सम्भावित जोखिमयुक्त विद्यालय बन्द गर्न आग्रह गरेको छ । यता इलाका प्रहरी कार्यालय चक्रघट्टीले भने जोखिमयुक्त स्थानहरुमा निरीक्षण गरिरहेको बताएको छ । उद्वार टोलीसमेत स्टान्डबाइ रहेको बताउँदै प्रहरीले सर्तकता अपनाउन नागरिकलाई आग्रहसमेत गरेको छ ।