इटहरीः सोमबार रातिदेखि निरन्तर रुपमा भइरहेको मनसुनी वर्षाका कारण आएको बाढीबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका सयौँ मानिस विस्थापित भएका छन् ।
बाढीले बासस्थान असुरक्षित भई विस्थपित हुन बाध्य बनाउँदासमेत स्थानीय सरकारले आफूहरुको व्यवस्थापनमा कुनै चासो नदिएको बाढी पीडितहरुको गुनासो छ । बाढीले घर असुरक्षित भएपछि विस्थापित बनेका सोही गाउँपालिका ७ का श्यामदेव मण्डल आफूहरुले निर्वाचनमा भोट दिएर प्रदेश र संघमा सांसद पठाएपनि विपद्मा कसैले कुनै सहयोग नगरको गुनासो गर्छन् । बाढीबाट विस्थापित भई स्थानीय विद्यालयहरुमा आश्रित स्थानीयहरुका लागि खाद्यान्नको अभाव हुन थालेको छ ।
पालिकाको वडा नम्बर ७ का वडाध्यक्ष बौवालाल यादवका अनुसार सुनसरी खोलाबाट बस्तीमा पस्ने पानीले वडावासीलाई वर्षेनी विस्थापित हुन बाध्य गराइरहेको छ । आफ्नो वडाका मात्र एक सयभन्दा बढी परिवार विस्थापित भएको उनको भनाइ छ । गाउँपालिकाको वडा नम्बर ४ को मुसहर बस्तीका करिब ३० परिवार, वडा नम्बर ५ को राम टोल, दास टोल र सुकुम्बासी टोल बस्तीका १ सय ५० घरपरिवार विस्थापीत बनेका छन् भने वडा नम्बर ७ का खत्वे टोल, मण्डल टोल, रामजानकी मन्दिर उत्तर मण्डल टोलको सयौँ घरपरिवार बाढीबाट प्रभावित भएका छन् ।
उता बाढीबाट विस्थापीत बनेका घरपरिवारहरुलाई भोक्राहा नरसिंह गाउँपालिकाका केही जनप्रतिनिधिहरुको सहयोगमा राहत प्याकेजसहित सुरक्षित स्थानमा सारिएको गाउँपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष हारुण अन्सारीले बताए ।