इटहरीः सोमबार रातिदेखि निरन्तर रुपमा भइरहेको मनसुनी वर्षाका कारण इटहरी उपमहानगरपालिका भित्रका अधिकांश स्थान बाढीबाट प्रभावित भएपछि स्थानीय सरकारले उपमहानगरभरिका सम्पूर्ण विद्यालय तीन दिनसम्म बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाको शिक्षा शाखाको निर्णयअनुसार आजैबाट इटहरी क्षेत्रका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरु असार १७ गतेसम्म बन्द हुनेछन् । बाढीबाट विद्यालय जाने बालबालिकामाथि कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले तीन दिन विद्यालय बन्द गरिएको हो ।
बाढीबाट विस्थापित भई समस्यामा परेका नागरिकलाई अल्पकालीन रुपमा विद्यालयमै आवासको व्यवस्था गर्नुपर्ने भएकाले पूर्वतयारीस्वरुप विद्यालयमा पठनपाठन बन्द गरिएको उपमहानगरको शिक्षा शाखाले जनाएको छ ।
हिजो मात्र विराटनगर महानगरपालिकाले पनि एक सूचना जारी गरी महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गरी सोही विद्यालयलाई बाढी पीडितको अस्थायी आवासको रुपमा प्रयोग गर्न थालेको छ । उता, रामधुनी नगरपालिकाले पनि आज एक दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।