इटहरीः रामधुनीका निजी विद्यालयहरु आज बुधबार पनि सञ्चालन नहुने भएका छन् ।

सोमबार रातिदेखि अविरल रुपमा भइरहेको वर्षाका कारण मङ्गलबार बन्द गरिएका विद्यालय बुधबार पनि बन्द रहने रामधुनी नगर प्याब्सनले बताएको छ । लगातारको वर्षाका कारण बाटोघाटो बिग्रेको र बालबालिकालाई विद्यालय लैजान तथा ल्याउन समस्या पर्ने भएकाले विद्यालय बन्द गरिएको रामधुनी नगर प्याब्सनका अध्यक्ष अच्युत ढकालले बताए ।

भारी वर्षाका कारण नगरका धेरै ठाउँमा डुबान भएको छ भने नदी र खोलामा पानीको बहाव उच्च रहेको छ । प्रदेश १ का धेरै स्थानमा ३ दिनसम्म भारी वर्षा हुने भन्दै जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सचेत गराइसकेको छ ।