बराहक्षेत्रः निरन्तरको वर्षाका कारण सप्तकोसी नदीको बहाव १ लाख २३ हजार ४ सय ५५ क्युसेक प्रतिसेकेन्ड पुगेको छ । कोसी बराज कन्ट्रोल रुमले आज दिउँसो २ः०० बजे मापन गरेअनुसार यस बहावबाट बराहक्षेत्र र बेलका नगरपालिकाका स्थानीयहरु त्रसित हुन थालेका छन् ।

बराहक्षेत्र नगरपालिकाका प्रकाशपुर र राजाबास भेग र बराहक्षेत्र र बेलका नगरपालिकाको सीमा क्षेत्रअन्तर्गत पर्ने श्रीलंका टप्पु, चिलिया टप्पु लगायतका स्थानहरु बढी जोखिममा रहेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्चार्ज टिकाबहादुर कार्की बताउँछन् । उनी भन्छन्, ’हामी बिहानैबाट सम्भावित जोखिमयुक्त ठाउँहरुको अवलोकनमै छाँै, आवश्यक परेमा उद्धार टोलीसमेत ‘स्टान्डबाइ’ राखेका छौँ ।’

288425767_581087576938103_324060705558282980_n

बराहक्षेत्रका कालाबञ्जर, हनुमानझोडा, खोरिया, बांगेबजार लगायतका स्थानहरु जलमग्न रहेका छन् । सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेपछि अहिले १९ वटा ढोका खोलेर सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्न तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्न र नदीमा काठे डुङ्गा चलाउनसमेत प्रशासनले प्रतिबन्ध लगाएको छ ।

सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रको निरीक्षण गरी सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले जानकारी दिए ।