इटहरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले चालु आर्थिक वर्षको सुरुवातदेखि असार १३ गतेसम्म आठ सय ४१ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

२०७८ साउन १ गते लागु भएको विशेष अभियान ‘फरार पक्राउ’ पछि प्रहरीलाई फरार प्रतिवादी पक्राउ गर्ने कार्यमा उल्लेखनीय सफलता प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

इनरुवा । सुनसरी प्रहरीले फरार प्रतिवादी पक्राउमा उल्लेख्य सफलता प्राप्त गरेको छ। अपराध गरेर भागिरहेका अपराधीलाई पक्राउ गर्न २०७८ साउन १ गतेदेखि विशेष अभियान चलाइएको थियो।
पक्राउ पर्ने फरार अभियुक्तहरुमा कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणाी, डाँकाजस्ता जघन्य तथा गम्भीर कसुरका अभियुक्तहरु रहेको एसपी थापाको भनाइ छ । अभियानका क्रममा एकैदिन एक सय १६ जनासम्म फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरीलाई सफलता मिलेको थापा बताउँछन् ।

चालु आर्थिक वर्षको सुरुवातदेखि वैशाख ३० गतेसम्म ६ सय १६ फरार अभियुक्तलाई पक्राउ गरेको प्रहरीले स्थानीय तहको निर्वाचनपछि दुई सय २८ जना, असार महिनाको १३ गतेसम्म दुई सय १७ प्रतिवादी पक्राउ गरेको हो । जसमध्ये असार १२ गते एकैदिन प्रहरीले एक सय १६ फरार अभियुक्तलाई पक्राउ गरेको थियो । आठ सय ४१ अभियुक्तहरुलाई पक्राउ गरेको सुनसरी प्रहरीले उनीहरुबाट एक करोड १४ लाख ३६ हजार पाँच सय २० रुपैयाँ जरिवाना असुल गरी एक सय ८२ वर्ष आठ मनिा पाँच दिन कैद भुक्तानका लागि कारागार पठाएको हो ।

जिल्लाभर जम्मा तीन हजार आठ सय अभियुक्त फरार रहेकोमा सोमध्ये आठ सय ४१ जना पक्राउ परेका हुन् । दुई हजार नौ सय ५९ अभियुक्तहरु अझै फरार रहेका छन् । प्रदेश १ भरीमा चालु आर्थिक वर्षको पुससम्ममा १ हजार १ सय ६८ जना फरार अपराधी पक्राउ परेका छन् । १४ जिल्ला रहेको प्रदेशमा जम्मा पक्राउ परेको मध्ये आधा भन्दा बढी सुनसरी प्रहरी फरार अभियुक्त पक्राउ गर्न सफल भएको देखिएको छ ।

२४ वर्षपछि पनि अपराधी पक्राउ
सुनसरीको दुहवी नगरपालिका ४ का गुल्वा भन्ने गुलाम मियाले २०५४ सालमा छिमेकी रसु चौधरीलाई जग्गाको विषयमा विवाद हुँदा बाँसको भाटाले हानी हत्या गरेकोमा कर्तय ज्यान मुद्दामा सुनसरी अदालतबाट २०६० माघ २६ गते २० वर्ष कैद सजाय पाई फरार रहेका उनलाई । २४ वर्षपछि सुनसरी प्रहरीले २०७८ साउन ३० गते पक्राउ गर्न सफल भएको एसपी थापाले बताए । उनलाई कैद भुक्तानीका लागि झुम्का कारागार पठाइएको थापाको भनाइ छ ।