इटहरीः मोरङको रङ्गेली नगरपािलका ७ मा स्कुल बसको ठक्करबाट सोही विद्यालयमा अध्ययनरत एक बालकको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् ।

माउन्टेन मकालु बोर्ङिङ स्कुलको को १ क ११३० नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा सोही विद्यालयको कक्षा नर्सरीमा अध्ययनरत रङ्गेली–५ का महादेव मण्डलका छोरा अन्दाजी ४ वर्षीय रितिक मण्डल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार विद्यालय छुट्टि भएपछि घरतर्फ लागेका बालकलाई अपराहन्न ४ बजे बसले ठक्कर दिई घाइते बनाएकोमा उपचारार्थ स्थानीय टायम्स अस्पतालमा पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।

यसैगरी, सोही बसको ठक्करबाट सोही विद्यालयको कक्षा एलकेजीमा अध्ययनरत रङ्गेली–६ का नरेश मण्डलकी छोरी अन्दाजी ६ वर्षीया सुनमकुमारी मण्डल गम्भीर घाइते भएको एसपी राईले जानकारी दिए । उनका अनुसार बालिकाको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगरतर्फ लगिएको छ । दुर्घटनालगत्तै बसका चालक भने फरार रहेकाले उनको खोजी जारी रहेको बताउँदै एसप िराईले ठक्कर दिने बस भने प्रहरीको नियन्त्रणमा रहेको बताए । यता, दुर्घटनापछि आक्रोशित स्थानीयले सोही स्कुलको अर्को बस तोडफोड गरिदिएका छन् । घटनापछि स्थानीय बासिन्दाको विरोधका कारण रङ्गेलीको अवस्था केही असामान्य बनेको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।