इटहरीः नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले सरकारी अस्पतालहरुमा केही सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
पदभार ग्रहण गरेको भोलिपल्ट मगंलबार आफ्नै कार्यकक्षमा विभिन्न सरकारी अस्पतालका प्रमुखहरुसगँ छलफल गर्दै मन्त्री केसीले यस्तो बताएका हुन् । सरकारले लगानी गरेका सरकारी अस्पतालहरु पहिलेभन्दा अहिले धेरै परिवर्तन भएको भन्दै उनले नेपाली सबै नागरिकहरुलाई सरकारी अस्पताल हाम्रो अस्पताल हो भन्ने बोध गराउनुपर्ने बताए ।
‘मन्त्री भन्ने त एउटा राजनीति नियुक्ति हो,’ राज्यमन्त्री केसीले अगाडि भने, ‘अस्पतालका प्रमुख डाक्टलगायत अन्य स्वास्थ्यकर्मी र कर्मचारीहरूको अस्पताललाई कस्तो बनाउने भन्ने कुरामा ठूलो हात हुन्छ । तपार्इँहरु योजना बनाएर सुधारका काम गर्नुस्, मेरो पूर्ण साथ समर्थन र सहयोग रहन्छ ।’
नागरिकहरुमा अहिले पनि सरकारी अस्पतालहरुमा छिटोछरितो सेवा पाइँदैन भन्ने भ्रम रहेकाले यसलाई हटाउन सके मात्र पनि ठूलो काम हुने केसीले बताए । राज्यले सञ्चालन गरेको स्वास्थ्य बीमालगायत विभिन्न उपचारमा दिएको छुट, राम्रो र भरपर्दाे उपचार विधिजस्ता कुराले सरकारी अस्पतालमा पछिल्लो समय नागरिकहरु उपचार लिनका लागि सरकारी अस्पतालहरुमा आउने क्रम बढेको र यसलाई थप व्यवस्थित गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
छलफल कार्यक्रममा वीर अस्पतालका निर्देशक डाक्टर भुपेन्द्र बस्नेत, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर विष्णुदत्त पौडेल, डाक्टर प्रकाश बुढाथोकीलगायत विभिन्न सरकारी अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।