धरानः सुनसरीको धरान उपमहानगरपालिकाबाट बिनाअनुमति वडा नम्बर १७ मा स्थानान्तरण गरी सञ्चालन गरिएको माउन्ट मोरिया इङ्लिस बोर्डिङ स्कुल तत्काल बन्द गरी एक महिनाभित्र साविककै ठेगानाबाट सञ्चालन गर्न उपमहानगरपालिकाले निर्देशन दिएको छ ।
बिनाअनुमति विद्यालय स्थानान्तरण गर्ने कार्य गैरकानूनी भएको भन्दै स्कुलविरुद्ध परेको उजुरीउपर सुनुवाइ गर्दै उपमहानगरपालिकाले साविककै स्थानमा स्कुल पुनःस्थापित गर्न निर्देशन दिएको उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत मनोज भट्टराईले जानकारी दिए ।
उनका अनुसार धरान १७ सेवाक्ष् ोत्र भएका ७ वटा विद्यालयहरूले अनुमति नलिई स्थानान्तरण गरेको भन्दै उजुरी परेका थिए । महाशाखाले सार्वजनिक सूचना प्रकाशित गर्दै १ महिनामा साविककै स्थानमा सञ्चालन गर्न निर्देशन दिएको हो । धरान उपमहानगरपालिका शिक्षा ऐन २०७८ को दफा (१७) मा विद्यालय एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्दा उपमहानगरपालिकाको अनुमति, स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
यस्तै, कुनै पनि विद्यालय सार्दा दुई स्कुलको अनुमति लिनुपर्ने प्रावधानसमेत छ । उपमहानगरका मेयर हर्क साम्पाङको नेतृत्वमा बसेको बैठकले स्कुल साविककै स्थानमा सञ्चालन गर्न निर्देशन दिएको हो । उपमहानगर सरकारको निर्देशन अटेर गरे स्कुललाई कानूनबमोजिम कारबाही गर्दै सञ्चालन अनुमति नै रद्द गर्नसक्ने अधिकार उपमहानगरलाई भएको अधिकृत भट्टराईले बताए । यसबारे बुझ्न माउण्ट मोरिया स्कुललाई सम्पर्क गर्दा सञ्चालकको फोन उठेन ।