इटहरीः गएराति निरन्तर रुपमा भइरहेको मनसुनी वर्षाका कारण आएको बाढीले मोरङको विराटनगर महानगरपालिका क्षेत्रका एक हजार पाँच सय घरपरिवार विस्थापित भएका छन् ।

विभिन्न खोलाहरुमा आएको बाढीबाट महानगरका १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका प्रभावित बासिन्दा विस्थापित भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले जानकारी दिए । विराटनगरका साथै जिल्लाका अन्य स्थानीय तहहरुमा पनि भारी वर्षापछि आएको बाढीले प्रभावित भएपछि स्थानीय पालिकाहरुको समन्वयमा राहत तथा उद्धारको कार्य सुरु गरिएको प्रजिअ दाहालको भनाइ छ ।

290375627_520733173177764_2990780595001488590_n

जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठक आह्वान गरिएको बताउँदै उनले राहत तथा उद्धारका साथै विस्थापितहरुको अल्पकालीन व्यवस्थापनका लागि त्रिपाल तथा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको प्रबन्धका लागि बैठकले निर्णय गर्ने उल्लेख गरे । जिल्लाका सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान र बुढीगंगा गाउँपालिकामा बाढीको प्रभाव बढी रहेको प्रजिअ दाहालको भनाइ छ ।