इटहरीः मोरङ्गको केराबारी गाउँपालिका वडा नम्बर ९ मा रहेको पक्की पुल करिब १३ वर्षसम्म सम्पन्न नहुँदा स्थानीयवासी कष्टकर यात्रा गर्न बाध्य बनेका छन् ।
बिहानबेलुका छाक टार्ने मजदुरदेखि विद्यार्थी, कर्मचारी सबैले प्रयोग गर्ने पुल ठेकेदारले समयमा नै काम नसक्दा एक दशकभन्दा लामो समयदेखि अलपत्र परेको छ । यसअघिको निर्माण कम्पनीले काम बीचमै छोडेपछि दोस्रो चरणमा निलगिरी कन्स्ट्रक्सन कम्पनीले पुल निर्माण गर्ने ठेक्का पाएको भएता पनि उसले पनि सम्झौताअनुसार काम नगर्दा निर्माणको काम सकिएको छैन । जिल्लाको क्षेत्र नम्बर ८ रहेको बेला संघीयता कार्यान्वयनमाा आउनुभन्दा पहिले नै चन्द्रबहादुर गुरुङ्ग संघीय सांसद हुँदा निर्माण गर्न थालिएको पुल संघीयतापछि क्षेत्र नम्बर १ भई घनश्याम खतिवडा निर्वाचित भएर जाँदासमेत सम्पन्न नभएको स्थानीय रुद्र भट्टराईको गुनासो छ ।
लामो समयसम्म पनि निर्माण कार्य सम्पन्न नहुँदा बनाएको संरचनामा समेत पानीले असर गर्न थालेको केराबारी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष गोपाल राई बताउँछन् । ‘बनेको संरचनासमेत पानीले बगाएर बिग्रने अवस्थामा छ ।’ वडाध्यक्ष राईले प्रदेश पोर्टलसँग भने । गोपाल राई गत वैसाख ३० गतेको स्थानीय निर्वाचनमा विजयी भएर आएपछि समेत ठेकेदारलाई बोलाएर निर्माण तत्काल सम्पन्न गर्न आग्रह गरिसकिएको छ । यो पुल नबन्दा वर्षा याममा विद्यार्थीलाई विद्यालय जान र कर्मचारीहरुलाई जागिरमा जानसमेत समस्या हुँदै आएको छ । झनै बिरामी पर्दा त उपचार नपाएर मर्नुको विकल्प नरहेको वडाध्यक्ष राईले स्वीकार गरेका छन् ।
आफू निर्वाचित भएर आएदेखि पुल सम्पन्न गर्न निर्माण कम्पनीलाई दबाब दिएको र चाँडै काम सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदारले गरेको वडाध्यक्ष राईले बताए । ‘३/४ महिनामा निर्माण सक्ने आश्वासन दिनुभएको छ यदि त्यसो भएन भने हामी कानूनी प्रक्रियाबाटै फर्दर प्रोसेस गरेर अगाडि बढ्छौँ ।’राईले अघि भने । सो पुल निर्माण सम्पन्न भए केराबारी ९ का ६ हजारभन्दा बढी बासिन्दा लाभान्वित हुने बताइएको छ ।