इटहरीः निरन्तर भइरहेको मनसुनी वर्षाका कारण आएको मोरङको सुन्दरहरैँचा नगरपालिका–३ आइतबारेस्थित गछिया खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुन्दरहरैँचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विक रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार विक सोमबार साँझदेखि हराइरहेका थिए ।

घरैदेखि बेपत्ता भएका उनको शव आज (मङ्गलबार) बिहान ७ बजेतिर खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा स्थानीयले फेला पारेको एसपी राईले बताए । स्थानीयको सूचनका आधारमा प्रहरी चौकी गछिया र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले शव खोलाबाट निकाली पोस्टमार्टमका लागि पठाउँदै इप्रका बेलबारीबाट घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।