इनरुवाः इनरुवा नगरक्षेत्र तथा आसपासका क्षेत्रका स्थानीयहरु केही समयदेखि छिनछिनमा झयाप्पझयाप्प बत्ति जाने समस्याले आजित मात्रै भएका छैनन अनियमित विद्युतका कारण स्थानीयका विद्युतीय सामग्रीहरु बिग्रिएर हैरान हुन थालेका छन् ।
२०७९ सालको वैशाख महिनादेखि इनरुवा तथा आसपासको क्षेत्रमा दैनिक ५० आंै पटकसम्म विद्युत लाइन झयाप्पझयाप्प जानेआउने गरेको छ ।
विद्युत प्राधिकरणको यस्तो अनियमित विद्युतलाई लिएर स्थानीयहरुले आक्रोशस्वरुप सामाजिक सञ्जालमा विभिन्न प्रकारका टिप्पणी लेख्न थालेका छन् । कतिपयले सामाजिक सञ्जालमा कर्मचारी र कार्यालय प्रमुखलाई उद्योग कलकारखानालाई विद्युत बिक्री गरेर सर्वसाधरणलाई अध्याँरो राख्ने गरेको आरोपसमेत लगाएका छन् ।
कतिपयले व्यङ्ग्यस्वरुप विद्युतका कर्मचारीलाई सार्वजनिक रुपमा सम्मान गर्न आह्वानसमेत गरेका छन् ।
नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण तथा ग्राहक सेवा केन्द्रका इन्जिनियर विपिन कायस्थले हाल इनरुवा तथा आसपासका क्षेत्रमा विद्युत लाइनमा देखिएको समस्या आन्तरिक र बाह्य दुवै भएको बताएका छन् ।
उनले वर्षाको मौसममा आउने हावाहुरी, पानी र चट्याङले पिन बिटमा पन्चर हुने समस्याले लाइन जाने समस्या हुने गरेको बताए ।
हावाहुरी, पानी र चट्याङले पोलहरु लडने तथा तारहरु चुडिने, रुखका हाँगा भाँचिदा पिलर बिटमा समस्या आउने गरेकाले विद्युत लाइन जाने गरेको इन्जिनियर कायस्थको भनाइ छ ।
११ हजार केभी प्रसारणलाइन र ३३ हजार केभी प्रसारणलाइनमा चट्याङले समस्या आउनुका साथै फिडरहरु फल्ट हुने गरेका छन् ।
साँझको समयमा हालको विद्युत लाइनले ग्राहकको मागअनुसार विद्युत दिन नसक्दा अत्यधिक लोड हुने गरेकाले बत्ति झया्प्पझ्याप्प जाने गरेकाले प्राधिकणले सो समयमा उद्योग कलकारखानाको लाइन काटेर सर्वसाधरणलाई विद्युत दिने गरेको दाबी उनले गरे ।
हाल ४८ हजार ग्राहकले इनरुवा वितरण तथा ग्राहक सेवा केन्द्रबाट विद्युत सेवा लिने गरेका छन । विद्युत प्राधिकरणसँग इनरुवामा १६ एमबीए र ८ एमबीए गरि दुईवटा २४ एमबीए क्षमताका ट्रान्सफर्मर रहेका छन् ।
दुईवटा ट्रान्सफर्मरले ४८ हजार ग्राहकलाई आवश्यक विद्युत लाइन दिन प्रर्याप्त हुने गरेको इनरुवा विद्युत प्राधिकरणले दाबी गरेको छ ।
प्राधिकरणका जानकारहरुले इनरुवामा १२ वडा फिडरहरु रहेकाले ति फिडरमध्ये एउटामा समस्या आए तत्कालै अर्कोबाट विद्युत लाइन आपूर्ति गर्न सकिने व्यवस्थान भएपनि इनरुवा वितरण तथा ग्राहक सेवा केन्द्रका प्राविधिक कर्मचारीले अन्य फिडर चालु नगर्ने कारणले झ्याप्पझ्याप्प लाइन जाने गरेको दाबी गरेका छन ।
प्राधिकरण स्रोतका अनुसार इनरुवा कार्यालयभित्र रहेको सव–स्टेसनमा डेढ भोल्ट क्षमताका ४० वटा ब्याट्री रहेका छन । ति ब्याट्रीको ग्यारेन्टी आयु क्षमता दुई वर्ष मात्र रहेकोमा इनरुवा कार्यालयले सात वर्षदेखि तिनै पुराना ब्याट्रीलाई मर्मतसम्भार गर्दै चलाउँदै आएकाले इनरुवा वितरण केन्द्र अन्र्तगतका ग्राहकहरुले झ्याप्पझ्याप्प लाइन जाने समस्या भोग्नुपरेको दाबी गरिएको छ ।
४० वटा ब्याट्रीलाई एकीकृत गरेर १२५ एम्पीयर बनाउने गरिएकाले ब्याट्री पुरानो भएकाले क्षमताअनुसार काम नगर्दा क्षणक्षणमा कहिले शुन्यमा झर्ने त कहिले २५ एमपियर कहिले ५०÷६० एमपियर हुने गरेकाले लाइन इनरुवाबाटै झ्याप्पझयाप्प जाने गरेको छ ।
डीसी फेल हुने मुख्य कारण रहेकाले हाल इनरुवा तथा आसपासका क्षेत्रमा मिनेटमिनेटमा लाइन आउने जाने समस्या इनरुवा वितरण केन्द्रले पुरानो काम नलाग्ने ब्याट्री परिवर्तन गरि नयाँ ब्याट्री खरिद गरेर जडान नगरेसम्म कायम रहने स्रोतले जनाएको छ ।
इन्जीनियर कायस्थले केही दिन अगाडि ब्याट्री सिस्टममा समस्या आएकाले मर्मतसम्भार गरेर समस्या समाधान गरिएको दाबी गरे ।
उनले दुहबी ग्रिडबाट आउने मुख्य लाइनको सप्यार्स तारमा चरा बसेका कारण तार चुडिँदा इनरुवा क्षेत्रमा झण्डै १२ घण्टा विद्युत लाइन अवरुद्ध बन्न पुगेको जानकारी दिए ।
उनले भने, ‘दुहबी ग्रिडबाट इनरुवामा आउने लाइनको तार धेरै पुरानो भएका कारण क्षमताअनुसार लोड लिन नसक्ने भएकाले लोड धान्न नसक्दा लाइन काटिने गरेको हो ।’
इन्जीनियर कायस्थले ओभरलोड हटाउनका लागि भोक्राहाबाट अहिलेको क्षमतालाई धान्न सक्ने नयाँ तार जडान भएको प्रसारणलाइन इनरुवामा जोड्न सके मात्र हाल देखिएको समस्या समाधान हुने दाबी गरे ।