इटहरीः सोमबार रातीबाट लगातार परेको बर्षाका कारण इटहरी डुबानमा परेको छ । वर्षाका कारण स्थानीय खोलाहरू भरिएर आएको बाढी मानव बस्तीमा प्रवेश गर्दा इटहरी उपमहानगर क्षेत्रका आधिकांश वडाहरु जलमग्न भएका छन् ।
इटहरीको टेङ्ग्रा खोला, खेती खोला र बूढी खोला क्षेत्रमा बाढीको अवस्था बढ्ने देखिएको छ । इटहरी वडा नं ५, ३, ४, २, २०, ९ लगायत अन्य केही वडामा बाढी बस्तीमा पस्नुको साथै पानी जमेर घर भित्र प्रवेश गर्ने अवस्थामा पुगेको स्थानीयले जानकारी दिएका छन् ।
इटहरी २० मा रहेको कृषि अनुसन्धान केन्द्रमा बाढी पसेको कारण त्यहाँ रहेका माछा पोखरी तथा अन्य बालीमा क्षती भएको जनाइएको छ । इटहरीका मेयर हेमकर्ण पौडेल नगर प्रहरीसहित बाढी तथा डुबान क्षेत्रमा बिहानदेखिनै सकृय भएर खटेका छन् । पौडेल डोजर लिएर डुबान क्षेत्रमा काम गरिरहेका छन् ।
मेयर पौडेलले बाढी र डुबानको कारण हुन सक्ने जोखिम व्यवस्थापनको लागि उपमहानगरका कर्मचारी, नगर प्रहरी र इटहरीवासीलाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् । खोला आसपास क्षेत्रमा रहेका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।
बाढी र डुबानका कारण केही समस्या भए मेयरको सम्पर्क नम्बरमा तत्काल जानकारी दिन समेत पौडेलले नगरवासीमा अनुरोध गरेका छन् ।