इटहरीः सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग सोमबार खानेपानीको विज्ञ टोलीसहित पानीको सम्भाव्यता अध्ययन गर्न सप्तकोसी पुगेका छन् ।

धरानवासीका घरदैलोमा खानेपानी पुर्याउने वाचासहित लोकप्रिय मत पाएर विजयी बनेका साम्पाङ्ग साप्तकोसीबाट पानीलाई धरान ल्याउने सम्भावनाको अध्ययन गर्न विज्ञ टोली लिएर त्यहाँ पुगेका हुन् ।
धरानको खानेपानी समस्या समाधान यहाँको भूमिगत पानी र स्थानीय जलाधार क्षेत्रले मात्र सम्भव नहुने भन्दै सप्तकोसीबाट पानी ल्याउँदा मात्र समाधान हुने मेयर साम्पाङको अठोट थियो ।

सोही अठोटअनुसार उनी सोमबार भारतको गर्भमेन्ट अफ इन्डिया अन्डरटेकिङ (जलशक्ति मन्त्रालय) वापकोस लिमिटेडका प्रोजेक्ट कोअर्डिनेटर तथा टिम लिडर राजीवकुमार शर्मा, वरिष्ठ इन्जिनियर सत्यमन्द प्रकाश, सिवेर नेटवर्क डिजाइनर तथा एक्सपर्ट चेत परियार, प्रोग्राम कोअर्डिनेटर विनोद महर्जन, प्रकाशभक्त श्रेष्ठ र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागका प्रोग्राम डाइरेक्टर बालमुकुन्द श्रेष्ठ गायतको विज्ञ टोलीसहित सप्तकोसी पुगेका थिए ।

समुहमा धरान खानेपानी बोर्डका निर्देशक इन्जिनियर राजु पोखरेल, नगर प्रहरी प्रमुख विष्णु कोइरालाको टिम सप्तकोसी नदीको चतरा नहरनजिकै पुगेर सम्भाव्यताको अध्ययन गरेको थियो ।

सप्तकोसीबाट धरानमा खानेपानी ल्याउन के कस्तो प्रविधिले सम्भव हुन्छ ? कति लागतमा पानी धरान आइपुग्छजस्ता विषयको भौतिक अध्ययन गर्ने टोलीले बताएको छ ।