विराटनगरः प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्नेमा जोड दिएका छन् ।
सोमबार विराटनगरमा आयोजित संयुक्त राष्ट्रसङ्घीय दीगो विकास कार्यक्रम सहयोग कार्यढाँचा(२०२३–०२७)को तर्जुमाका लागि प्रदेशस्तरीय परामर्श कार्यक्रममा कार्यक्रममा बोल्दै मन्त्री कार्कीले मानवीय सन्तुष्टिलाई हेरेर योजना बनाउनुपर्ने बताए ।
‘काठमाडौँमा बस्ने मानिसको विकासप्रतिको आकांक्षा र विराटनगरमा बस्नेको विकासप्रतिको आकांक्षा फरक छ,’ उनले भने, ‘कसैलाई बिहानबेलुका कसरी हातमुख जोड्ने भन्ने छ त कसैलाई सम्पत्तिको सुरक्षा कसरी गर्ने भन्ने छ । त्यस कारण हुँदा खानेलाई हुने खाने बनाउने र हुने खानेको सम्पत्तिको सुरक्षा कसरी गर्ने भन्ने योजनासाथ जानुपर्छ ।’
छलफल गोष्ठीले मात्रै लक्ष पूरा गर्न नसकिने उल्लेख गर्दै छलफलबाट निस्केको निष्कर्षलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा मन्त्री कार्कीले जोड दिए । ‘एउटा मात्र कुरालाई फोकस गरेर योजना बनायौँ भने त्यो सम्भव छैन,’ उनले भने, ‘विभिन्न अध्ययन अनुसन्धानका साथ २०२३ देखी सुरु हुने संयुक्त राष्ट्रसङ्घीय दिगो विकास कार्यक्रमलाई फलदायी बनाउनुहोस् ।’
नेपालमा संयुक्त राष्ट्रसङ्घीय समन्वयका लागि अल्पकालीन र मध्यकालीन प्राथमिकतामाथि छलफल तथा परामर्श गरी रणनीतिक साझेदारीलाई थप सुदृढीकरण गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । परामर्श कार्यक्रममा सहभागीले सन २०२३ बाट सुरु हुने कार्यक्रममा भौतिक, आर्थिक, सामाजिक सबै क्षेत्र समेटेर दीगो विकासको ढाँचा तयार पार्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा.पूर्णकुमार लोक्सम, सदस्यहरू, मुख्यसचिव लगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।