इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरीको मुख्य चौकमा पूर्वराजा स्वर्गीय वीरेन्द्र शाहको शालिक पुनःस्थापना गर्ने अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय युवा संघ नेपालले पनि खवबदारी गरेको छ ।
संघको इटहरी उपमहानगर कमिटीले मेयर पौडेलले दिएको सो अभिव्यक्तिप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाएको हो ।

कमिटीका अध्यक्ष कमल दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनआन्दोलनले राजतन्त्र नै फालिसकेको अवस्थामा इतिहास संरक्षणका नाममा इटहरी चौकमा पूर्वराजाको शालिक राख्न नहुने बताइएको छ ।

290587239_745731349881969_1071499676747164024_n

विज्ञप्तिमा सार्वजनिक ठाउँहरुमा स्थानीय मौलिक कला तथा लोकसँस्कृतिको झल्को दिने खालका वस्तुहरुको प्रवद्र्धन गर्नुपर्नेमा एक पटक हटाइएको शालिकलाई पुनःस्थापित गराउनु गलत हुने कुरामा जोड दिइएको छ ।

विज्ञप्तिमा चौक बजारमा पूर्वराजाको शालिक राख्नेतर्फ भन्दा पनि सार्वजनिक शौचालय, आकाशे पुल निर्माण गर्नतर्फ लाग्न पनि ध्यानाकर्षण गराइएको छ । यस्तै, पूर्वराजाको शालिक निर्माण गर्ने निर्णय नसच्याएको खण्डमा हुन जाने दुर्घटनाको भागिदार आफैँ हुन पनि मेयरलाई सचेत गराइएको छ ।

यसअघि मेयरको उक्त अभिव्यक्तिको विरोध गर्दै नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनका जिल्ला कमिटीले विज्ञप्ति सार्वजनिक गरेका थिए । आदिवासी जनजाति महासंघले पनि मेयर पौडेललाई भेटी पूर्वराजाको शालिक पुनःस्थापना नगराउन ध्यानाकर्षणपत्र बुझाएको थियो ।