इटहरीः सरकारी नियमनकारी निकायले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको नाममा युवा पुस्तालाई ठगी गर्ने म्यानपावर एजेन्सी तथा व्यक्तिहरुले ठगी गरेका प्रशस्त उजुरी आउने गरेको छ । यसरी ठगी गर्नेमा अवैध म्यानपावर कम्पनी बढी छन् ।

बिनाइजाजत शाखा कार्यालय खोलेर वैदेशिक रोजगारमा जानेहरुको राहदानी कब्जा गर्नेदेखि तोकिएको शुल्कभन्दा बढी रकम उठाउने कार्यमा यस्ता म्यानपावरहरु प्रत्यक्ष संलग्न छन् ।

यस्तो समस्या हरेक शहरमा खुलेका म्यानपावर कम्पनीबाट उत्पन्न हुने गरेको छ । जसमा पूर्वकै केन्द्र इटहरी उपमहानगर क्षेत्रमा मात्र १६ वटा इजाजतप्राप्त म्यानपावर कम्पनीका शाखा कार्यालय छन् । तर इटहरीमा ६० भन्दा बढी शाखा इजाजत नभएका म्यानपावर कम्पनीका पनि छन् । जुन कानुनी रुपमा अवैध हुन् ।यसरी सञ्चालित म्यानपावर कम्पनीलाई कानूनी रुपमा प्रतिबध लगाउन पहल थालिएको छ ।

जसअनुसार श्रम तथा रोजगार कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरी र प्रहरीको सहकार्यमा इटहरीमा सञ्चालित अवैध म्यानपावरमा छापा मारिएको छ । आइतबार इटहरीभित्र रहेका ७ वटा म्यानपावरमा संयुक्त अनुगमन टोलीले छापा मारेको हो । ७ वटामा ३ वटा म्यानपावर अवैध भेटिए । तर अधिकाशं अवैध म्यानपावर एजेन्सीमा पुगेको अनुगमन टोली कार्यालयमा सञ्चालकले ताला लगाएर हिडेपछि रित्तो हात फर्कियो ।

Anuaa

अनुगमन टोलीले इटहरीको टेङ्ग्रा पुलपारि धरान लाइन, गोरखा गल्ली तथा लण्डन होटलअगाडि रहेका म्यानपावरहरूमाथि छापा मारेको थियो ।

ताला लगाइएका अधिकाशं म्यानपावर अवैध रुपमा सञ्चालित छन । कम्पनीका सञ्चालक भने कार्यालयमा नरहने र कर्मचारीको भरमा सञ्चालित यस्ता म्यानपावरमा पहिलो चरणमा कार्यालय बन्द गराउन कबुलियत पत्रमा हस्ताक्षर गराइएको छ । अनुगमन टोलीले केही म्यानपावरका कर्मचारीलाई समेत नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।

यसरी सञ्चालित म्यानपावर कम्पनीबाट ठगिएको गुनासोको आधारमा अनुगमन गरिएको श्रम तथा रोजगार कार्यालय विराटनगरले जनाएको छ । अनुगमनको क्रममा पूर्वस्वीकृति नलिएका र शाखा कार्यालयको लागि स्वीकृति लिएका तर इजाजतपत्र नपाएका म्यानपावर कम्पनी भेटिएको श्रम तथा रोजगार कार्यालय विराटनगरका शाखा अधिकृत पुण्यप्रसाद पौडेलले जानकारी दिए ।

Anu 3

अनुगमनका क्रममा अवैध रुपमा सञ्चालित म्यानपावर बन्द अवस्थामा समेत भेटिए । अनुगमनको पूर्वसूचना चुहिएका कारण धेरैजसो कम्पनीमा ताला ठोकेर सञ्चालक फरार भएका थिए । कतिपय म्यानपावरमा महिला कर्मचारी मात्र भेटिएका थिए ।

अनुगमनको क्रममा अवैध रुपमा सञ्चालित यस्ता म्यानपावर कम्पनीका कर्मचारीलाई न्यूनतम पारिश्रमीकसमेत नदिई काममा लगाएको भेटिएको थियो । साथै संयुक्त अनुगमन टोलीले अवैध रुपमा रहेका म्यानपावर कम्पनीका घरधनीको समेत विवरण संलग्न गरेको छ । घरधनीलाई त्यस्ता अवैध म्यानपावर कम्पनीलाई घर तथा कोठा भाडामा नदिन पत्र काटिने जनाइएको छ । अनुगमनको क्रममा कतिपय म्यापावरले घर भाडासमेत नदिएर दुःख दिएको गुनासो घरधनीले अनुगमन टोलीसँग गरेका थिए ।

यसरी दैनिकजसो जनस्तरबाट गुनासो आएसँगै इलाका प्रहरी कार्यालय इटहरीले समेत केही म्यानपावर कम्पनीका सञ्चालकलाई नियन्त्रणमा लिन थालेको छ । केही दिनअघि प्रहरीमा वैदेशिक रोजगारमा जानेहरुको गुनासो आएपछि केही म्यानपावर कम्पनीमा प्रहरीले छापा मारेको थियो । अब इटहरी उपमहानगर क्षेत्रमा अवैध रुपमा सञ्चालित यस्ता कम्पनीहरु सञ्चालन गर्न नदिने इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

आइतबार अनुगमन गरिएका म्यानपावर कम्पनीमध्ये हरि मगरले सञ्चालन गर्ने ग्राण्ड स्वीट, टंकमान राईको प्रोग्रेसिव र दीपक खतिवडाको लाइफलाइन म्याननपावर अवैध भेटिए । त्यसमा प्रहरीले प्रोग्रेसिव म्यानपावरका दुईजना महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । इटहरीमा म्यानपावर कम्पनीको अनुगमान धेरै समयपछि गरिएको हो । समय समयमा अनुगमन नहुँदा इटहरी उपमहानगर क्षेत्रमा अवैध रुपमा सञ्चालित यस्ता म्यानपावर एजेन्सीको संख्यामा वृद्धि भइरहेको अवस्था छ । जसले गर्दा वैदेशिक रोजगारमा जानेहरु ठगिने क्रमसमेत बढ्दो अवस्थामा छ ।