इटहरीः झापाको मेचीनगर नगरपालिकाको भारतीय सीमावर्ती क्षेत्रबाट हात्तीका बथानै नेपाल भित्रिएर दुःख दिन थालेपछि संघीय सांसद सहितको जनप्रतिनिधि र सुरक्षाकर्मीको टोलीले सो क्षेत्रको निरीक्षण गरेको छ ।

शनिबार साँझ भएको निरीक्षणमा मेचीनगरमा हात्ती आतङ्कको दीर्घकालीन समाधानका लागि सांसदहरु, प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख तथा उपप्रमुख, वडाध्यक्ष, जिल्ला प्रहरी प्रमुख लगायतको टोलीले बाहुनडाँगीको सीमा क्षेत्रमा निरीक्षण गरेको हो ।

प्रतिनिधिसभा सदस्य राम कार्की, प्रदेशसभा सदस्यहरु श्रीप्रसाद मैनाली, राधा थापा, झापाका प्रजिअ छविराज रिजाल, मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी, निवर्तमान नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विश्वमणि पोखरेल, सशस्त्र प्रहरी २ नम्बर गण झापाका प्रवक्ता डीएसपी प्रेम भण्डारी लगायतको टोलीले भारतबाट नेपालमा हात्तीहरु प्रवेश गर्ने भन्सार गौँडाको मलामी टोलमा निरीक्षण गरेका हुन् ।

वर्षौँदेखि हात्ती आतङ्कको पीडामा रहेका स्थानीयलाई त्यसको समाधान दिनका लागि जैविक तटबन्धन गर्ने नीतिअनुरुप नगरसभाले सम्बोधन गरिसकेको भएपनि संघीय सरकार र प्रदेश सरकारले पनि यसमा सहयोग गर्नुपर्ने आवश्यकता रहेको मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए ।

289544852_699067364505107_8294058165740686420_n

हात्ती छिर्ने गौँडाको निरीक्षण गरेपछि सांसदहरुको टोलीले हात्तीको दीर्घकालीन समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकार लाग्ने आश्वासन दिएको थियो ।

विगतमा हात्ती छेक्न लगाएको सोलार फेन्सिङ (विद्युतीय तारबार)भत्किएर काम नै नलाग्ने अवस्थामा पुगेकाले हात्तीहरु लस्करै नेपाल प्रवेश गर्ने गरेको वडाध्यक्ष कार्कीले बताए । हात्तीका बथान यसरी प्रवेश गर्न थालेपछि स्थानीयको अन्नबालीका साथै जनधनको समेत क्षति हुने गरेको छ ।

हात्तीले घर भत्काउने, मानिसलाई घाइते बनाउने र मार्ने सम्मको हर्कत गरिरहेका छन् । यसमा तीन वटै सरकारले ध्यान जानुपर्छ भन्ने स्थानीयवासीको माग रहँदै आएको छ ।

हात्तीको प्रवेशलाई छेक्न तत्काल विद्युतीय तारबारलाई मर्मत गर्नुको विकल्प नरहेको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बताएका छन् । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फेन्सिङ्गको लागि बजेट विनियोजन गरेको बताएको छ ।

सोही कार्यक्रमका बीच मेचीनगर ४ का वडाध्यक्ष कार्कीले स्थानीय २० जनालाई हात्ती धपाउन टर्चलाईट पनि वितरण गरेका थिए ।