इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकामा व्यवसाय दर्ता गरेका व्यक्ति, फर्म तथा संस्थाले चालु आर्थिक वर्षसम्म लाग्ने व्यवसाय कर बुझाउन बाँकी रहेको भए त्यस्तो कर बुझाँउदा लाग्ने थप शुल्क, दस्तुर वा जरिवाना मिनाहा गरिदिने घोषणा गरिएको छ ।

इटहरी उपमहानगरको बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपमेयर संगीताकुमारी चौधरीले आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ मा लाग्ने कर २०७९ साल पौष मसान्तभित्र बुझाए त्यसमा लाग्ने सम्पूर्ण थप शुल्क, जरिवाना, दस्तुर तथा ब्याज मिनाहा गरिने घोषणा गरेकी हुन् ।

त्यसैगरी, व्यवसाय गरी कारोबार गरिरहेका व्यक्ति, संस्था तथा कम्पनीले नियमानुसार व्यवसाय दर्ता गरी आएमा आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ र २०७९ मा लाग्ने व्यवसाय कर २०७९ पौष भित्रमा बुझाएमा सोमा लाग्ने थप शुल्क तथा जरिवाना मिनाहा गरिने पनि घोषणा भएको छ ।

त्यसैगरी, चालु आर्थिक वर्ष अथवा सोभन्दा पहिलेको भूमि कर तथा सम्पत्ति कर नबुझाएका करदाताले २०७९ को पौष मसान्तसम्ममा बुझाएमा त्यसबापत लाग्ने थप शुल्क, ब्याज र जरिवाना मिनाहा गरेको छ भने आगामी आर्थिक वर्ष २०७९/ ०८० को एकीकृत सम्पत्ति कर, भूमि कर एवं व्यवसाय कर बापतको रकम पौष मसान्तभित्र तिर्न आएमा निर्धारित कर रकमको दश प्रतिशत रकम छुट दिनेसमेत नीति उपमहानगरले लिएको छ ।

289783054_1164407664396924_4090456227105565694_n (1)

यता, घर बहाल कर तिर्ने दायित्वका व्यक्तिहरुको २०७५ असार मसान्तभन्दा अगाडिको बहाल कर उपमहानगरले मिनाहा गरिदिने भएको छ यसैगरी आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ र २०७८/०७९को घर बहाल कर २०७९ पौष मसान्तभित्र बुझाएमा सोमा लाग्ने ब्याज, तथा जरिवाना मिनाहा गरिने भएको छ ।

उता, आगामी आर्थिक वर्षको घर बहाल कर पौष मसान्तभित्र बुझाएमा करको दश प्रतिशत छुट दिइने भएको छ ।
उपमहानगरले दिने भनेको छुट प्राप्त गर्न करदाता स्वयं नगरपालिकामा उपस्थित हुनुपर्ने शर्त अगाडि सारिएको छ भने तोकिएको समयावधिभित्र कर नतिर्ने करदाताबाट, कर, शुल्क, ब्याज र जरिवाना असुलउपर गरिने समेत बताइएको छ ।
इटहरी उपमहानगरले एक लाख रुपैयाँ सम्मको स्वारोजगारमूलक व्यवसाय गर्ने उद्यमीलाई व्यवसाय करमा पूर्ण छुट दिने भएको छ भने महिलाहरुले सञ्चालन गरेको उत्पादनमुलक व्यवसायमा एकल व्यवसायलाई ४० प्रतिशत छुट दिने भएको छ । सामुहिक व्यवसाय गर्ने महिलालाई ६० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

यसैगरी, उपमहानगरले मकै पोल्ने, चिया बेच्ने, नाङ्गलो, डोको, र ढाकीमा सागसव्जी, चामल, पिठो, चिउरा , मुरली, बाँसुरी, गुलेलीजस्ता सामान बेच्ने व्यापारीलाई बहाल बिरौटी शुल्क नलिने भएको छ । यसरी बहाल बिरौटी शुल्क तिर्न नपर्ने व्यवसायीमा जुम्रा, उडुस, माटोको किरा मार्ने औषधि बेच्ने व्यवसायीसमेत परेका छन् ।