विराटनगरः प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले लागूऔषध दुरुपयोगलाई रोक्नका लागि सबैको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।

आइतबार अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसको अवसरमा विराटनगरमा आयोजित प्रभातफेरी कार्यक्रममा मन्त्री कार्कीले लागू पदार्थको अवैध कारोबारलाई निरुत्साहित पार्न प्रदेश सरकार लागिरहेको बताए । ‘प्रदेश सरकार लागू पदार्थ दुरुपयोगलाई निरुत्साहन गर्न लागिपरेको छ, सबै सँगको समन्वयमा यो सम्भव पनि छ,’ उनले भने, ‘आन्तरिक मामिला मन्त्रालयले पुनःस्थापना केन्द्रहरू, जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयहरूसँग समन्वय गरिरहेको छ ।’

खासगरी किशोरकिशोरी समूहका विद्यार्थीहरु लागूऔषधको अवैध प्रयोगकर्ता बढी रहेको उल्लेख गर्दै मन्त्री काकीले त्यसलाई रोक्नका लागि पनि विद्यार्थीले नै भूमिका खेल्नुपर्ने बताए । ‘एउटा विद्यार्थी घरपरिवारभन्दा बढी साथीसँग नजिक हुन्छ भने, उ कुलतमा फस्न लाग्दा साथीले नै रोक्न सक्छ’, उनले भने, ‘त्यसका लागि मन्त्रालयले चाँडै कल सेन्टरको स्थापना गर्छ, प्रहरीका एकाईहरू छन् त्यहाँ पनि खबर गर्न सक्नुहुनेछ ।’

photo 4 (4)

 

 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले तीनै तहका सरकार लागू पदार्थ दुरुपयोगलाई निरुत्साहन गर्न लाग्नुपर्ने बताउँदै प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । नवज्योति पुनःस्थापना केन्द्रका अध्यक्ष सुशील रिजालले पुनःथापना केन्द्रमा काम गर्नेहरूले दिनरात नभनी काम गर्दै आएको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइराला, कोसी अस्पतालका प्रमुख डा.यज्ञराज खरेल, सुरक्षा निकायका प्रतिनिधि, पुनःस्थापना केन्द्रका प्रतिनिधि, विभिन्न क्याम्पसका विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।