इटहरीः झापा र मोरङका छुट्टाछुट्टै स्थानबाट विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत झापा र मोरङका विभिन्न मितिका फैसलाबाट कैद सजाय र जरिवाना निर्धारण भई हालसम्म फरार रही लुकिछिपी बसेका दमक नगरपालिका– ७, झापाका ३९ वर्षीय तेजु भन्ने तेजबहादुर मगर, मिक्लाजुङ गाउँपालिका–३ मोरङका ४० वर्षीय सुमनसंभी लिम्बू, सोही स्थानका २६ वर्षीय रमेश घिमिरे, बेलबारी नगरपालिका–२ लालभित्ती मोरङका २१ वर्षीय अर्जुम झागड र धनपालथान गाउँपालिका–५ मोरङका सुन्नर सरदार पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्दामा झापा जिल्ला अदालतको २०७६ साल जेठ ५ गतेको फैसलाले ६ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएका मगरलाई दमक–६ बाट पक्राउ गरेको हो, भने जिल्ला अदालत मोरङको २०७८ साल साउन १ र २ गतेको फैसलाले बिनाइजाजत राष्ट्रिय वन क्षेत्रमा प्रवेश मुद्दा र हातहतियार खरखजाना मुद्दामा १० महिना २९ दिन कैद र ३० हजार जरिवाना तोकिएका सुमनसंभी लिम्बू र जबरजस्ती करणी मुद्दामा २ महिना १० दिन कैद, ५ हजार जरिवाना तोकिएका रमेश घिमिरेलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैगरी, चोरी मुद्दामा ५ महिना १६ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका अर्जुन झागडलाई इलाका प्रहरी कार्यालय बेलबारीले र नकवजनी चोरी मुद्दामा ७ महिना ५ दिन कैद तथा १० हजार रुपैयाँ जरीवाना तोकिएका सुन्नर सरदारलाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जना अभियुक्तहरुलाई कैद भुक्तानको लागि सम्बन्धित जिल्लाको जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।