इटहरीः झापाको शिवसताक्षी नगरपालिका–१० स्थित दोमुखाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध ब्राउनसुगरको किनबेच भइरहेको भन्ने विशेष सूचनाको आधारमा आइतबार अपराहन्न ४ बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले इलामको माई नगरपालिका–८ २५ वर्षीय सुजेन्द्र राई, झापाको कन्काई नगरपालिका –३ का ४३ वर्षीय बेनुप्रसाद चिमरिया र कन्काई–४ का ३२ वर्षीय हेमनारायण चौधरीलाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले १७ ग्राम लागूऔषध ब्राउनसुगर, नगद ८८ हजार पाँच सय रुपैयाँ, दुई थान मोबाइल सेट र ३ थान मोटरसाइकल बरामद गरेको छ । यसैगरी सोही स्थानमा लागूऔषध खरिद गर्न आएका दमक नगरपालिका–१० का २८ वर्षीय सुजन राई र दमक नगरपालिका–९ का २५ वर्षीय सुरज तामाङलाई को ६ प ६९४८ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसरी लागूऔषधसहित पक्राउ परेका ५ जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।