इटहरीः मोरङको कटहरी गाउँपालिका र विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट विद्युत् चोरीमा संलग्न रहेको आरोपमा आठ जना पक्राउ परेका छन् ।
नेपाल विद्युत् प्राधिकरण, नेपाल र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरुलाई गएराति पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा विराटनगर–१९ का २९ वर्षीय महानन्द चौधरी, ५० वर्षीय रञ्जित पासवान, ४३ वर्षीय शेरबहादुर सार्की, ५६ वर्षीय हरिचरण पासवान तथा कटहरी गाउँपालिका–१ का २२ वर्षीय रोशन गिरी, १८ वर्षीय विकास घिमिरे, ४१ वर्षीय सञ्जय मग्राती र ३७ वर्षीय दीलिप राजवंशी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार विशेष सूचनाका आधारमा परिचालित संयुक्त टोलीले विद्युत् चोरी गर्दागर्दै अभियुक्तहरुलाई रङ्गेहात पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि विद्युत् प्राधिकरणको जिम्मा लगाइएको एसपी राईले बताए । पक्राउ परेकाहरुलाई विद्युत् चोरी गर्दा प्राधिकरणलाई परेको हानीनोक्सानीको मूल्याङ्कन गर्दै दोब्बर जरिवाना गरेर छाडिने नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काले बताए ।
विद्युत् चुहावट नियन्त्रणका लागि समन्वय एवम् सहयोग गर्न जनप्रतिनिधिलाई समेत आग्रह गरिएको उनको भनाइ छ । उनका अनुसार बक्यौता असुलीमा तिव्रता दिएको प्राधिकरणले ६० दिनभन्दा बढी अवधिसम्म महशुल नबुझाउने ग्राहकको लाइन काट्न थालेको छ ।