इटहरीः मोरङको बूढीगङ्गा गाउँपालिका–४ स्थित कोसी राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा परी सुरक्षा गार्डसहित दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बूढीगङ्गा–४ का ६९ वर्षीय मङ्गल राम रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार गएराति करिब ८ः०० बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ च ४४१४ नम्बरको एम्बुलेन्सले ठक्कर दिएपछि गम्भीर घाइते भएका रामलाई उपचारार्थ बुढीगंगामै रहेको विराट मेडिकल कलेज शिक्षण अस्पताल पठाइएकोमा उपचारका राति १२ः३० बजे उनको मृत्यु भएको हो । दुर्घटनालगत्तै फरार रहेका एम्बुलेन्स चालकको खोजी जारी रहेको बताउँदै डीएसपी तिम्सिनाले एम्बुलेन्स भने प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । एम्बुलेन्सको तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यसैगरी, बूढीगङ्गा–४ स्थित प्रिमियर वायर उद्योगअगाडि दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प १४१४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उद्योगमै कार्यरत सुरक्षा गार्डको मृत्यु भएको छ । राति ८ः४० बजेतिर दुर्घटना हुँदा उद्योगका सुरक्षा गार्ड भोजपुरको अरुण गाउँपालिका–५ घर भएका २६ वर्षीय राम श्रेष्ठको मृत्यु भएको डीएसपी तिम्सिनाले जानकारी दिए । प्रहरीका अनुसार पैदल हिँडिरहेका बेला दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा आज बिहान करिबब ३ः४० बजे मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पनि सामान्य घाइते भएका छन् ।
पैदलयात्रीलाई ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रित बनेर दुर्घटना हुँदा चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय विकाश श्रेष्ठ र पछाडि सवार २३ वर्षीय शेसल परियार सामान्य घाइते भएका छन् । उनीहरुको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।