नेपालगञ्जः बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागुऔषध मुद्दा बढ्दै गएको छ । खासगरी, जिल्लामा लागुऔषध पदार्थको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार चालु आवको असार पहिलो सातासम्म यस्ता अभियोगमा १८५ पक्राउ परेका छन् । तीमध्ये १७५ पुरुष र १० महिला रहेका छन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धअन्तर्राष्ट्रिय दिवसको अवसर पारेर यसको माग घटाउने र वितरणमा नियन्त्रण गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए ।

“लागुऔषधको कारोबार र सेवनलाई निरुत्साहित गर्न आवश्यक भएको उल्लेख गर्दै विद्यालय केन्द्रित कार्यक्रम र लागुऔषध जोखिम न्यूनीकरण गर्नुपर्छ,” उनले भने । गत आर्थिक वर्षमा बाँकेमा कूल १९६ पक्राउ परेका थिए । ती मध्ये १८५ पुरुष र ११ महिला रहेकामा १२६ लाई मुद्दा चलाइएको थियो ।

पछिल्लो तथ्यांकअनुसार जिल्लामा ट्याब्लेटको कारोबार बढेको देखिएको छ । गत वर्षभन्दा चालु आवमा नाइट्रोजन र ट्रामाडोल दोब्बर बढी पक्राउ गरिएको छ । गत आवमा ब्राउन सुगर ५७० ग्राम, चरेस २० दशमलव तीन केजी, अफिम ३४ दशमलव ५७४ केजी, गाँजा ६८ दशमलव ४३ केजी, कोरेक्स ३९ दशमलव चार लिटर, नाइट्रोजन एक हजार ३१० ट्याब्लेट र ट्रामाडोल एक हजार ७० ट्याब्लेट बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।

उनका अनुसार चालु आवको असार पहिलो सातासम्म ब्राउनसुगर ८९० दशमलव ९९ ग्राम, चरेस १४ दशमलव १५८ केजी, गाँजा २४ दशमलव २८ केजी, कोरेक्स आठ दशमलव चार लिटर, नाइट्रोजन चार हजार २५ ट्याब्लेट र ट्रामाडोल दुई हजार ४३० ट्याब्लेट बरामद हुँदा अफिम भने बरामद भएको छैन ।

जिल्लामा २० पुनस्र्थापना केन्द्रमा अहिले ३१२ जनाको उपचार भइरहेको छ । उनीहरू २० देखि ५४ वर्षसम्मका छन् । निःशुल्क परामर्श केन्द्रमा नौ जनाले सेवा लिइरहेका छन् । -रासस