धरानः ४ जनाको हत्याको घटनामा संलग्नलाई पत्ता लगाउन माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले धर्ना सुरु गरेको छ ।
दोषी पत्ता लगाई कारबाहीको दायरमा नल्याएसम्म दैनिक धर्ना दिने पार्टीले जनाएको छ । शनिबार ‘जनता जागौँ राष्ट्रिय अभियान’ नाराका साथ हत्यारा पत्ता लगाउन माग गर्दै पार्टीले धरानको भानुचोकमा शान्तिपूर्ण धर्ना कार्यक्रम सुरु गरेको हो ।
२०७८ वैशाख ७ गते प्रदीप ओख्राबु, २०७८ साउन १२ गते विनोद इवाहाङ लिम्बू, झगेन्द्र बान्तावा राई २०७८ कात्तिक २ गते र सन्दीप लमजेल २०७९ वैशाख १२ गते मृत अवस्थमा फेला परेका थिए । उनीहरुको हत्यारा कहाँ पुगे भन्दै पार्टीले धर्ना कार्यक्रम सुरु गरेको हो । पार्टीका सुनसरी इन्चार्ज राजेश खिम्दुङले लामो समयसम्म पनि प्रहरीले घटनाको अनुसन्धान नगरेको बताए ।
उनले निरन्तर धर्ना गर्ने बताए । पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थामदेनले धरानका निमुखा नागरिकलाई राज्यले न्याय नदिएकाले धर्ना कार्यक्रम गर्नुपरेको बताए । उनीहरुले जनतालाई लुटेर खाने सहकारीहरुलाई किन कारबाही गरिँदैन भन्दै प्रश्न गरेका छन् ।
सहकारी सञ्चालकलाई कारबाही गरी गरीबको रकम फिर्ता गर्न पनि उनीहरुले माग गरेका छन् । साथै, धरानका भ्रष्टाचार, दादागिरी, गुण्डागर्दी र लागूऔषध तस्करी नियन्त्रण गर्न पनि उनीहरुले माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य तुरुन्त घटाउनुपर्ने, महङ्गी नियन्त्रण गर्न, हरेक नेपालीलाई रोजगारी दिनुपर्नेजस्ता माग पनि उनीहरुले गरेका छन् ।