इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरी चोकमा पुर्व राजा वीरेन्द्रको प्रतिमा खडा गर्ने सार्वजनिक अभिव्यक्ति दिएको भन्दै तीन विद्यार्थी संगठनले आपत्ति जनाएका छन् ।

एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको सुनसरी जिल्ला कमिटीले शनिबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै समाजमा व्याप्त बिकृती विसङ्गतिहरुको चिरफार गर्दै जनभावना अनुरुप असल कार्य गर्न गराउन हाम्रो खबरदारी सदैव रहने बताएका छन् ।

उनिहरुले इटहरी उपमहानगरपालिकाका नव निर्वाचित मेयरले इटहरी मुख्य चोकको बिच सडकमा राजा रजौटाको प्रतिमा खडा गर्ने भनी दिएको अभिव्यक्ति प्रती आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ‘इतिहास संरक्षणको नाममा स्थानीय मौलिक कला र लोक सँस्कृती प्रचार–प्रसार र प्रबद्र्धन गर्नुको सट्टा कुनै अमुक ब्यक्ति वा संस्थाको मुर्ती चोकको भित्तामा राखेर इटहरी सरकारले के सन्देश दिन चाहान्छ’ भन्ने प्रश्न गरेका छन् ।

‘निरङ्कुश राजतन्त्र विरुद्धको जनयुद्ध तथा जनआन्दोलनले इटहरीको एउटा मुर्ती मात्र हैन यो देशबाटै राजतन्त्रका सवै अवशेषहरु मिल्काइ नेपाली जनताको हातमा राज्यसत्ता फर्काएको इतिहास ताजै छ ’ विद्यार्थी संगठनले विज्ञप्ती मार्फत भनेका छन् ।

290355329_5194314033978171_6615421650852478701_n

मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रको स्वर्णीम चरणमा आइपुग्दा समेत कुनै राजा रजौटाको कृत्रिम मुर्ती ब्यस्त सडकको विचमा खडा गरेर इतिहासको संरक्षण हुने मान्यता राख्नु आफैमा पश्चगामी कदम भएको उनिहरुको टिप्पणी छ ।

इटहरीको मुख्य चोकमा स्थानीय कला सँस्कृति झल्किने चित्र तथा प्रतिमा राख्न विद्यार्थी संगठनको सुझाव छ ।
इटहरी चोकमा राजाको मुर्ती भन्दा नगरमा सार्वजनिक शौचालय, आकाशे पुल, सिसि टिभी तथा सडक बत्ति जडान गरि हरित नगरी इटहरी बनाउने तर्फ इटहरी सरकारको ध्यानाकर्षण संगठनहरुले गरेका छन् ।

विद्यार्थी संगठनहरु सुदृढ एवम् उन्नत गणतान्त्रीक व्यवस्थाको रक्षार्थ फेरी पनि बलिदान दिन तयार रहेको बताउँदै विभिन्न ठुला आन्दोलनमा विद्यार्थी संगठनहरुको नेतृत्वको स्मरण गराएका छन् ।

विज्ञप्तीमा अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष नविन दाहाल, अनेरास्ववियूका जिल्ला अध्यक्ष अतित किरण नेपाल र अनेरास्ववियु जिल्ला कमिटीका नवराज खड्काले हस्ताक्षर गरेका छन् ।