धरानः सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गको नेतृत्वमा धरानको पखुवा खोलामा खानेपानीको लागि शनिबार श्रमदान गरिएको छ । सचेत धराने समुहलगायत धरानका स्वतन्त्र युवाहरु स्वतःस्फुर्त श्रमदानमा निस्किएका थिए ।
मेयर साम्पाङ्गले धरान उपमहानगरको वडा नम्बर ११ र १७ का लागि खानेपानीको व्यवस्था गर्न धरानको पखुवा खोलामा रहेको जलाधार क्षेत्रलाई संरक्षण गर्न वृक्षारोपण लगायतका काम गरिने बताएका छन् । उनले प्रत्येक शनिबार वृक्षारोपण गरिने बताउँदै पखुवा पनि जलाधार क्षेत्र भएकाले यहाँ पनि वृक्षारोपण गरिने बताए ।
आफूले नगरप्रमुखमा निर्वाचित भएर आइसकेपछि ३ वटा अभियानहरु चलाइरहेको बताउँदै मेयर साम्पाङ्गले खानेपानीको स्रोत सुधार गर्ने र बिग्रिएका तथा भत्केका पूर्वाधारको मर्मतसम्भार गर्दै खानेपानीमा सुधार गर्दै लगेको बताए ।
‘धरानलाई ‘क्लिनेस्ट सिटि’ बनाउने घोषणा हामीले गरेका छौँ । त्यसमा तपाई धरानेहरुको पनि पूर्ण सहयोगको आवश्यकता छ’ मेयर साम्पाङ्गले भने ।
फोहोर सोहोर्नको लागि मात्र २ देखि ३ करोड रकम खर्च भइरहेको बताउँदै मेयर साम्पाङ्गले आफूले नै व्यस्थापन गर्न सकिने फोहोर फ्याँक्दा नगरको बजेट खर्च भइरहेकाले त्यो खर्च जोगाउन सके बचेको पैसा पूर्वाधारमा लगानी गर्न सकिने बताए ।
चौकचौकमा डस्विन राख्ने बताउँदै मेयर साम्पाङ्गले अहिलेसम्म नगरले डस्विन खरिद गर्न नपरेको बताएका छन् । आफूहरुलाई डस्विन युके, हङ्गकङ्गजस्ता देशबाट आइरहेको र कति यहाँकै बैंक तथा अन्य संस्थाले सहयोग गरिरहेको उनले बताए ।
वृक्षारोपण कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उनले आफ्नो लाउनु खानु नभएको र सबै धराने जनताकै लागि कार्यक्रम सञ्चालन गरिरहेको समेत बताए ।
सबै जनताको सहयोगले मात्र आफ्नो अभियान सफल हुने बताउँदै उनले एउटा ढुङ्गा मात्र उठाएर भएपनि सहयोग गरेकोमा सम्पूर्ण जनतालाई धन्यवाद व्यक्त गरेका थिए ।