काठमाण्डौंः नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दुई तिहाइको सरकार नभई एउटा गुटको नायकको पक्षपोषण गर्ने सरकार चलाएका कारण केपी शर्मा ओली नेतृत्वको सरकारको अन्त्य भएको बताएका छन् ।

आज कार्की ब्याङ्क्वेट बबरमहलमा आयोजित पार्टीको चौथो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका जनमुखी कामसमेत कटौति गरिन्छन् कि भन्ने त्रासका बीच बाँच्नुपरेको बताए ।

उनले ओली गुटले नीति, विचार र सिद्धान्तका कुरा एकातिर थन्क्याएर पार्टीका मूल्यमान्यता, दृष्टिकोण मिच्दै दक्षिणपन्थीको मतियार बनेको बताए । उनले भने, ‘जो बालुवाटारप्रति बफादार छ उसैलाई मात्र च्याप्ने गरे । त्यसकारण म नेकपा एमाले भन्दिनँ– केपी ओली गुट मात्र भन्छु ।’

उनले ओलीले चारचार पटक बजेट ल्याउँदासमेत केही नभनेको बताए । उनले भने, ‘त्यतिखेरको प्रतिपक्षी पनि निदाएको थियो । कतिपय नेता त संसदमै देखिँदैनथे । यस्तो अवस्थामा पनि सहयोग पाइनँ भन्नु केपी ओलीको पागल–प्रलाप मात्रै थियो ।’

खनालले केपी ओलीको पागलपनकै कारण दुईदुई पटक प्रतिनिधिसभा विघटन भएको बताए । उनले भने, ‘त्यो संसद नेकपाको दुई तिहाइको शक्ति थियो । यो अहिले हामीले अंगीकार गरेको प्रणालीमा त्योभन्दा ठूलो शक्ति कहिल्यै आर्जन हुन सक्दैन । तर, केपी ओलीले आफूलाई राजा महेन्द्रकै शैलीमा ढाले । हामी जतिसुकै प्रगतिशील कानून र एजेण्डा ल्याएर पनि पारित गर्न सक्ने सम्भावनाका नजिक थियौँ ।’

उनले नवौँ महाधिवेशनमा केपी ओली गुट हाबी भएकाले पार्टीमा दुर्भाग्यपूर्ण परिस्थिति निर्माण भएको बताए । उनले भने, ‘वैचारिक,राजनीतिक रूपमा दक्षिणपन्थी, प्रतिगामी, फुटवादी, गुटवादी रूपमा केपी ओली गुट अगाडि बढेका कारण पार्टीमा विद्रोह गर्नुपर्यो ।’

उनले ओलीमा त्यो अहंकार अहिले पनि भएकाले पाँच दलीय गठबन्धन गर्नुपरेको बताए । उनले भने, ‘मुलुकको स्थायित्वका लागि मात्र गठबन्धन गरिएको हो । कमसेकम हामीले मुलुकको संविधानको रक्षा गरेका हौँ ।