इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले आफू मातहत रहेका कार्यालयका कर्मचारीहरुका लागि दैनिक खाजा भत्ता १ सय ३३ रुपैया ३३ पैसाबाट बढाउँदै १६६ रुपैयाँ ६६ पैसा कायम गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शुक्रबार उपमहानगरकी उपमेयर संगीताकुमारी चौधरीले खाजा भत्तालाई समयसापेक्ष वृद्धि गर्दै लगिनेसमेत बताइन् ।

नगरपालिकाले म भ्रष्ट्राचार गर्दिन म भ्रष्ट्राचार हुन दिन्नँ, म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु भन्ने प्रतिबद्धताअनुरुप सेवा प्रवाहमा सदाचार पद्धति अवलम्बन गरिने बताएको छ ।

कर्मचारीको वृत्ति विकासको समुचित अवसर प्रदान गरी चालु आर्थिक वर्षदेखि नै उत्कृष्ट कर्मचारीलाई नगरसभाबाट सम्मान गर्ने कार्यक्रम इटहरीले अघि सारेको छ ।

कार्यसम्पादनको आधारमा अब्बल ठहरिएका कर्मचारीलाई क्रमश सर्वोत्कृष्ट इटहरी उपमहानगर कर्मचारी पुरस्कार, उत्कृष्ट कर्मचारी पुरस्कार र कर्मचारी पुरस्कारमार्फत् क्रमश ५१ हजार, ३१ हजार र १८ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने नीति ल्याएको छ ।

उपमहानगरले यसै वर्षदेखि उपमहानगर परिसरमा सहायता कक्ष अर्थात हेल्प डेक्सको प्रबन्ध गर्ने बताएको छ भने उपमहानगरले कर्मचारी तथा जनप्रतिनिधिलाई पत्राचार गर्दा इमेलको प्रयोग गर्ने बताएको छ ।