इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकामा घर बनाउने नागरिकले कम्तिमा २ वटा बहुवर्षीय बिरुवा अनिवार्य रोप्नुपर्ने व्यवस्था गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै उपमहानगरकी उपमेयर संगीताकुमारी चौधरीले सो घोषणा गरेकी हुन् ।
‘दीगो वातावरणमैत्री विकासको कल्पना, इटहरीवासीको चाहना’ भन्ने नाराका साथ वन वातावरण तथा सरसफाइ तर्फको बजेटमा घरनक्सा पास गर्दा हरेक नागरिकले कम्तिमा २ वटा बहुवर्षीय बिरुवाहरु रोपेर हुर्काउनुपर्ने नीति अघि सारेको हो । २ वटा बिरुवा रोपेपछि मात्र नगरपालिकाले घर निर्माण सम्पन्न प्रमाणपत्र दिने बताएको छ ।
बहुवर्षीय बिरुवामा पारिजात, सुवर्णपालिका, आँप, बुद्धचित्र, रुद्राक्ष, निम आदि प्रकारका बिरुवा रोप्नुपर्ने उपमहानगरकी उपमेयर संगीता चौधरीद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले बोलेको छ । घरधनीले घरबाट निस्कने फाहोरलाई अनिवार्य रुपमा व्यवस्थापन गर्नुपर्ने नीतिसमेत नीति तथा कार्यक्रममा अघि सारिएको छ ।