इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले बजार क्षेत्रमा टेङ्ग्रा खोलाले वर्षा याममा गर्ने डुबान र कटानको समस्यालाई दीर्घकालीन गुरुयोजना बनाई समाधान गर्न २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

स्थानीय सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शुक्रबार इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीताकुमारी चौधरीले विपद व्यवस्थापन र बाढी नियन्त्रणका लागि २ करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरेकी हुन् ।

वर्षेनी हुने डुबान, पहिरो र भूक्षय तथा नदी कटानजस्ता समस्याको समाधान गर्न सरकारी तथा गैह्रसरकारी निकायसँगको साझेदारी र समन्वयमा नदी नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिने उपमहानगरपालिकाले बताएको छ ।

इटहरीको सीमा तथा नगरभित्र भएर बग्ने बुढी, टेङ्ग्रा, खेती, सुकुमारी, मुढा, हक्रा, खर्सला, पानीपिया तथा सेरा खोला र अन्य पैनी तथा खहरे आदिले वर्षा याममा प्रत्येक वर्ष इटहरी डुबानमा पर्ने भएकाले संघीय सरकार र प्रदेश सरकारको समेत सहकार्यमा आन्तरिक स्रोत परिचालन गरेर बाढी र डुबान नियन्त्रणका लागि तटबन्धन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । डुबान नियन्त्रणका लागि चाुल अवस्थामा रहेका पैनीहरुको सरसफाइ गरी निकासको प्रबन्ध गर्ने नीतिसमेत इटहरी सरकारले अघि सारेको छ ।