झुम्काः रामधुनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९÷०८० का लागि ७१ करोड १४ लाख ८२ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
रामधुनी नगरपालिकाकी उपमेयर तारा थापाले शुक्रबार आयोजना भएको नगरको १२ औँ नगरसभामा सो बजेट प्रस्तुत गरेकी हुन् । संघीय संसदको सिको गर्दै सरकार प्रमुखले नीति तथा कार्यक्रम पेश गर्ने चलनबमोजिम नगरप्रमुख शंकरलाल चौधरीले नगरको नीति तथा कार्यक्रम पेस गरेका थिए भने उपप्रमुखले बजेट प्रस्तुत गरिन् । नगरपालिकाले यस पटक चालु आर्थिक वर्षको भन्दा ७ दशमलव ४६ प्रतिशत कम बजेट प्रस्तुत गरेको छ ।
चालु आर्थिक वर्षको लागि अघिल्लो सरकारकी उपप्रमुख सविनाकुमारी चौधरीले ७२ करोड ८४ लाख ४ हजारको बजेट प्रस्तुत गरेको भएता पनि पछि १० औँ र ११ औँ नगरसभाबाट संशोधन गरी ७६ करोड ८८ लाख ६८ हजारको बजेट बनाइएको थियो । रामधुनी सरकारले बनाएको आगामी आर्थिक वर्षको बजेटले बालमैत्री स्थानीय शासनलाई टिकाइराख्ने, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने, जीवनोपयोगी सीपयुक्त शिक्षाको प्रबन्ध मिलाउने तथा कृषि, उद्योग र पर्यटनमा बजेट लक्षित गरेको छ ।
नगरपालिकाले पाँच पिलरको अवधारणाअनुसार बजेट विनियोजन गरेको देखाएको छ ।
जसमा सबैभन्दा बढी बजेट सामाजिक विकासमा परेको छ । नगरपालिकाले पहिलो पिलरको रुपमा रहेको आर्थिक विकास क्षेत्रको योजनाका लागि ६ करोड ८१ लख ५२ हजार रुपैयाँ विनियोजन गरेको छ । ‘पर्यटन र पूर्वाधार समृद्ध रामधुनीको आधार’ भन्ने नाराका साथ कृषि क्षेत्रका विभिन्न कार्यक्रम गर्न १ करोड ९५ लाख २० हजार बजेट छुट्याइएको छ भने नगरभरिका उत्कृष्ट कृषकलाई मेयर उत्कृष्ट कृषक पुरस्कार प्रदान गर्न ५० हजार रुपैया विनियोजन गरिएको छ । यस्तै पर्यटनका विभिन्न कार्यक्रमका लागि ८१ लाख ८ हजार रुपैँया विनियोजन गरिएको छ ।
शिक्षातर्फ नगरपालिकाले १९ करोड १६ लाख बजेट विनियोजन गरेको छ भने विद्यालय कर्मचारीको लागि न्यूनतम १५ हजार पारिश्रमिक उपलब्ध गराउने बताएको छ । त्यसैगरी, रामधुनी नगरपालिकाले स्वास्थ्यतर्फ ३ करोड ३२ लाख ६५ हजार रुपैयाँ विनियोजन गरेको छ भने खानेपानीतर्फ ८४ लाख रुपैयाँ विनियोजन भएको छ । नगरपालिकाले तेस्रो पिलरअन्तर्गत पूर्वाधार विकासमा २५ करोड १० लाख ९ हजार रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले आफ्नो मुख्य कार्यालय भवनको लागि १ करोड ३२ लाख रुपैयाँ छुट्याएको छ । सो बजेटभित्र नगरपालिकाले क्यान्टिन बनाउने , इन्टरलक लगाउने, सभाहल बनाउने जेनेरेटर र फर्निचर खरिद गर्ने सम्मका योजना परेका छन् ।
उता वन वातावरण र विपद व्यवस्थापनमा १ करोड ४४ लाख ८० हजार रुपैयाँ विनियोजन भएको छ । जसमा फोहोरमैला डम्पिङ साइट व्यवस्थापनमा ९ लाख र फाहोर बोक्ने गाडीमा जीपीएस जडानमा २ लाख बजेट विनियोजन भएको छ । पाँचौँ पिलर अर्थात सुशासन तथा संस्थागत विकासका लागि नगरपालिकाले १८ करोड ६१ लाख रुपैँया विनियोजन गरेको छ । जसमा नगरपालिकामा डिजिटल बोर्ड तथा सूचना पार्टी राख्ने, ९ वटै वडामा सीसीटीभी जडान गर्ने , नगरको डिजिटल प्रोफायल तयार गर्ने, नगरमा टोकन सिस्टम जडान गर्ने लगायतका कार्यक्रम राखिएका छन् ।