धरानः सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै खोलामा ढुङ्गा गिट्टीको लागि ठेक्का नलगाउने नीति सार्वजनिक गरेको छ ।

आगामी वर्षको नीति कार्यक्रम तथा बजेट वक्तव्य सार्वजनिक गर्दै उपमहानगरले ढुुङ्गा, गिट्टी, बालुवाजस्ता नदीजन्य पदार्थको बिक्रीवितरण, ठेक्का लगाउँदा उपमहानगरपालिका आफैँले उत्खनन गर्ने जनाइएको छ । खोलाको अत्यधिक दोहन रोक्न उपमहानगरपालिकाले आफैँ उत्खनन् गरेर बिक्री गर्ने नीति सार्वजनिक गरेको हो ।

 ढङ्गा, गिट्टी, बालुवाजस्ता नदीजन्य पदार्थको बिक्रीवितरण तथा ठेक्का व्यवस्थापनमा संघीय वनसम्बन्धी कानुनले जटिलता उत्पन्न गरेको तथा अत्याधिक दोहनलाई निरुत्साहित गर्न वैकल्पिक पद्दतिको रुपमा उपमहानगरपालिका आफैँले उत्खनन गरी बिक्रीवितरण तथा उपयोग गर्ने नीति अबलम्बन गरिनेछ ।’ नीति तथा कार्यक्रममा भनिएको छ ।

नीति तथा कार्यक्रममा ढुङ्गा, गिट्टी, बालुवाजस्ता नदीजन्य पदार्थ र अन्य प्राकृतिक स्रोतहरुको अनाधिकृत एवं अवैज्ञानिक दोहन गर्न नदिइने जनाइएको छ । यस्तै, सर्दु जलाधार क्षेत्रलाई मानिस प्रवेश निषेधित बनाउँदै बनेका भौतिक संरचना र बन्न लागेका भौतिक संरचना हटाइने जनाइएको छ । शुक्रबारको नगरसभाले नेपाल सरकारका नाममा आउन बाँकी जग्गा नेपाल सरकारको नाममा ल्याइने समेत नीति ल्याएको छ ।