इटहरीः प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ का सदस्यसचिव हंशराज वाग्लेले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु कर्मचारीको घेराबन्दीमा परेको बताएका छन् ।

शुक्रबार इटहरीमा आयोजना भएको प्रदेश १ भलिबल संघको चौथो साधारणसभामा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै सदस्यसचिव वाग्लेले सो बताएका हुन ।

खेलकुद विकास बोर्डले खेलकुदको क्षेत्रमा गर्न लागेका कामका योजना सहितको बजेट माग गर्दा केही बजेट मात्र विनियोजन गरेको बताउँदै सदस्यसचिव वाग्लेले खेलकुद सबैलाई आवश्यक पर्ने भएता पनि बजेट विनियोजनमा मन्त्रीहरु डराएको बताए ।

IMG_2354

‘मन्त्रीहरु खै कसको घेराबन्दीमा पर्नुभयो थाहा छैन, तर सबैले आवश्यक भनेको बजेटको चार भागको एक भाग पनि आउन सकेन ।’

प्रदेशमा प्रायः आमन्त्रण फुटबल प्रतियोगिता मात्र हुने गरेको भन्दै वाग्लेले अब आमन्त्रण भलिबल कप पनि राख्ने बताए ।

भलिबलको लागि पनि आफूले यथेष्ट बजेट माग गरेको र बजेट आएको खण्डमा भलिबलको लागिसमेत प्रशिक्षकहरु नियुक्त गर्ने आफ्नो योजना बताउँदै वाग्लेले भने, ‘मन्त्रीज्युहरु कर्मचारीको घेराबन्दीमा पर्नुभयो, कर्मचारीहरु दरबन्दी थप गर्न चाहँदैनन् ।’

IMG_2345

प्रदेश भलिवल संघ बन्ने क्रममा रहेकाले भलिबल संघको सिफारिसमा दुईचार जनालाई प्रशिक्षकको रुपमा नियुक्त गर्ने र प्रदेशमा भलिबलको विकासमा यथेष्ट सहयोग गर्ने वाग्लेले बताए ।

‘ खाली फुटबल मात्र होइन, अब भलिबल पनि हुन्छ’ सदस्यसचिव वाग्लेले भने । भलिबल संघको नेतृत्व सर्वसम्मत चयन गर्न वाग्लेले सभालाई आग्रह गरेका थिए । ‘निर्वाचनमा जानुभन्दा सर्वसम्मत भयो भने राम्रो सन्देश जान्छ, सकेसम्म तपाईँहरु निर्वाचनमा नजानुहोस् । ’ वाग्लेको भनाइ थियो ।

कार्यक्रममा प्रदेशभरिका १४ वटै जिल्लाका भलिबल संघका प्रतिनिधिका साथै नेपालको पहिलो राष्ट्रिय भलिबल टिमका कप्तान ऋषि आचार्य तथा चर्चित पूर्वभलिबल खेलाडी दीपक सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

IMG_2365

प्रदेश १ भलिबल संघको अध्यक्षमा खेम राई

प्रदेश नम्बर १ भरिको भलिबल संघको अध्यक्षमा खेम राई चयन भएका छन् । शुक्रबार इटहरीको क्यान होटलमा भएको संघको चौथो साधारणसभाबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यसैगरी, संघको उपाध्यक्षमा वीरवल थापा, गोपाल श्रेष्ठ र डम्बर लिम्बू चयन भएका छन् भने महासचिवमा लेखनाथ पराजुली र सचिवमा विजय राई चयन भएका छन् । संघको कोषाध्यक्षमा धनु राजभण्डारीलाई चयन गरिएको छ ।

289592352_4946521912125991_6764345307177197411_n

 

संघको १३ जनाको कार्यसमिति रहेको भलिवल संघ झापाका भिष्मराज उप्रेतीले बताए । साधारणसभापछि चयन भएको नयाँ कार्यसमितिलाई प्रदेश नम्बर १ को खेलकुद विकास बोर्डका सदस्य रितेश श्रेष्ठ लगायतले बधाइ तथा शुभकामना दिएका थिए ।