काठमाडौंः नेकपा.(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशभक्ति, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानका विषयमा बोल्न प्रत्येक नागरिकलाई आव्हान गरेका छन् ।

पार्टी पोलिट ब्यूरोको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशभक्ति,स्वाभिमान र राष्ट्रिय स्वतन्त्रताका सन्दर्भमा नागरिकहरु चनाखो हुनुपर्ने बताएका हुन् ।

अध्यक्ष नेपालले इन्डो प्यासिफिक रणनीति(आइपीएस), स्टेट पार्टनर सिप प्रोग्राम (एसपीपी) र एमसीसी एमाले नेताहरुको योजनामा आएको बताउँदै एमसिसी पारित गर्दा आफूहरुले १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई सम्झौताको अभिन्न अंग बनाउन बाध्य पारेर देशलाई विदेशी सामु समर्पण गर्ने अवस्थावाट जोगाएको बताए ।

संविधानलाई कुल्चिने,दक्षिणपन्थी र विदेशीहरुसँग साँठगाँठ गर्ने ओलीको अभिमानलाई हामीले नै रोकेको भन्दैै आफुहरुकै दबावमा चुच्चे नक्सा प्रकाशन भएको उनको दाबी थियो ।

देश जोगाउने जिम्मेवारी इमान्दार कम्युनिष्टहरुको काँधमा आएकोले अब यसको नेतृत्व हाम्रो पार्टीले गर्ने भन्दै अध्यक्ष नेपालले एकीकृत कम्युनिष्ट पार्टी निर्माणमा लागि पर्ने बताए । हामीले नै विद्रोह गरेर संविधान र संघियताको रक्षा गरेको भन्दै देशलाई अस्थिरतावाट जोगाएको उनको भनाई रहेको थियो ।

विश्वमा देखिएका जलवायु परिवर्तन,खाद्य संकट र आर्थिक संकटका विषयमा समेत छलफल हुनुपर्ने समेत उनको धारणा थियो ।

स्थानीयतहको निर्वाचनमा गठबन्धनकै भरमा महानगर,उपमहानगर जिते पनि प्रदेश र जिल्लामा सहकार्य हुन नसक्दा अपेक्षित परिणाम हासिल हुन नसकेकोले गठबन्धनका विषयमा मसिनो ढंगले समिक्षा गर्नुपर्ने भन्दै यसका लागि अहिलेदेखि नै वार्ता सुरु गर्नुपर्ने उनले बताए ।

कांग्रेस र माओवादीबीचको गठबन्धन अपेक्षाकृत फलदायी हुन नसकेकोले गठबन्धनमा तेस्रो धारका विषयमा समेत छलफल गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।

बैठकमा अध्यक्ष नेपालले राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति, संगठनात्मक अवस्था, स्थानीयतहको निर्वाचनको समीक्षा, गठबन्धन सरकारको समीक्षा र पाँचदलीय गठबन्धनको औचित्य, भावी कार्ययोजना तथा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन रणनीति लगायतका विषय समेटिएको प्रतिवेदन प्रस्तुतगर्दै पार्टी विस्तार अभियानलाई अगाडि बढाउँदै आगामी निर्वाचनमा जुट्नुपर्ने आवश्यकता आँैल्याए ।

बैठकमा पोलिटब्यूरो सदस्यहरुले आ–आफ्नो धारणा राखे । बैठकमा पारित प्रतिवेदन केन्द्रीय कमिटी र केन्द्रीय परिषद बैठमा प्रस्तुत हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । केन्द्रीय कमिटीको दोश्रो बैठक आज कार्की ब्यङ्क्वेट बबरमहल र केन्द्रीय परिषद बैठक असार १३ र १४ गते प्रज्ञाभवन कमलादीमा हुने प्रमुख खतिवडाले बताए । परिषदको बैठकको उदघाटन अध्यक्ष नेपालले गर्ने छन् । ।