इटहरीः इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८०को बजेटबाट २ हजार विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने भएको छ ।

उपमहानगरकी उपमेयर संगीता कुमारी चौधरीले शुक्रबार स्थानीय सरकारको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरसभामा सो जानकारी गराएकी हुन् ।

उपमहानगरपालिकाले आजैदेखि सबैका लागि सँधैका लागि स्वास्थ्य भन्ने नारालाई अवलम्बन गर्दै स्वास्थ्यमा नगरबासीको पहुँच वृद्धि गर्दै लैजाने नीति लिएको नीति तथा कार्यक्रमले बताएको छ ।

उपमहानगरले स्वास्थ्य बीमा कार्यक्रममा इटहरी अस्पतालबाट प्रवाह हुन नसक्ने सेवाको लागि वडामा रहेका स्वास्थ्य केन्द्रबाट पनि रिफर लिन सक्ने व्यावस्थालाई विस्तार गर्दै लैजाने समेत बताएको छ । हाल इटहरी अस्पताल बाहेक ४ वटा स्वास्थ्य केन्द्रबाट रिफर लिने व्यावस्था चालु भएको छ ।

इटहरी अस्पतालमा शल्यक्रिया सहितको सुत्केरी सेवा समेत विस्तार गर्ने नीति तथा कार्यक्रमले बताएको छ । उपमहानगरले हरेक ३ महिनामा सामुदायिक विद्यालयका विद्यार्थीहरुको निशुल्क स्वास्थ्य परिक्षणको व्यावस्था मिलाउने समेत बताएको छ ।

इटहरीलाई मेडिकल हवको रुपमा विकास गर्नका लागि स्वास्थ्य संस्थाहरुबाट निस्कने फोहोरको उचित व्यवस्थापनका लागि विस्तृत अध्ययन गरिने बताइको छ ।